मनाङेको सांसद पद खारेज
मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज भएको छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक आन्तिम साता जेल चलान हुनुभएका मनाङेको पद रिक्त भएको हो।
सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो। गुरुङलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति ९बुधबार०बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ।
संविधानको धारा १८० मा धारा १७८ बमोजिमका योग्यता नभए प्रदेशसभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अब ५९ सदस्यमात्र कायम भएका छन्। धारा १७८ को उपधारा १ (घ) मा संसदका योग्यतामा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने उल्लेख छ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्चको पत्र आएपछि पद खारेजी प्रक्रिया हुने उल्लेख गर्नुभयो। “अहिलेसम्म त मिडियामा देखियो। पत्र आएपछि प्रक्रिया सुरु हुन्छ,” उहाँले भन्नुभयो। गएको मङ्सिरमा भएको उपनिर्वाचनभन्दा १९ दिनअघि उहाँ पक्राउ पर्नुभएको थियो। मनाङे मनाङ (२) बाट स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध चुनिनुभएको थियो। अघिल्लो निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो।







