व्यवसायीलाई प्रमाणित ढकतराजु प्रयोग गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह
काठमाडौं– चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ। अप्रमाणित ढकतराजु प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो।
यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढकतराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ। फागुन १६ देखि २१ सम्म सञ्चालन हुने शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन्। व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुंगल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रांगण (बलम्वु)मा सञ्चालन हुनेछ। शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढकतराजु खरिद गरेको ३५ दिन ननाघेको भए खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ। नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ।







