किसानलाई तत्कालै दूधको बक्यौता रकम दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानले पाउनुपर्ने बक्यौता रकम तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएका छन् । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापतको रकम नदिएको भन्दै किसानले सडकमै विरोधस्वरुप दूध पोख्न थालेपछि प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बोलाएर किसानको दूधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिन र भुक्तानी नदिए कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘किसानले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्’, प्रधानमन्त्रीले भने।
किसानले दूधको भुक्तानी नपाएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। मिल्क होलिडे समस्या बढ्दै गएको उनीहरुको गुनासो छ।







