Breaking News Tuesday, 6 Sep, 2016
Prestige Media

आगो सहनेहरू

पति वा आफन्तविरुद्ध उजुरी अथवा बयान दिए घर निकाला हुने र झन् धेरै बेसहारा हुनुपर्ने डरले सत्य नबोल्ने प्रवृत्ति

जनक नेपाल

बाँके इन्द्रपुर–९ की पूजादेवी नाउ २६ असोज ०७१ को साँझ आफ्नै घरमा जलाइन् । शरीरका प्राय: सबै अंग जलेर गम्भीर घाइते अवस्थामा भेरी अञ्चल अस्पताल ल्याइँदासमेत उनले घटनाको वास्तविकता खोलिनन् । बरू अर्कै कथा बुनिन्, “टुकी पल्टिएर आगो सल्किएको हो । कसैले आगो लगाएको हैन ।” प्रहरी अनुसन्धानपछि पति पवन दोषी देखिए । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । पूजादेवी भने पतिको मुद्दा फिर्ताका लागि धाइरहेकी छन् ।

त्यही रात जलाइएकी बाँके, खासकारकाँदो–२, भुजईगाउँकी हेमकुमारी धोबीले तारपिन तेलको ग्यालेनमा आगो सल्किएर घटना भएको बताइन् । उपचारका क्रममा काठमाडौँमा मृत्यु भएपछि प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो, घरायसी झगडामा उनलाई पतिले आगो लगाएका रहेछन् ।

२१ जेठ ०७१ मा परस्पर–७ का मनोज वाल्मीकिले आफ्नै पत्नी अमृतालाई मट्टीतेल खन्याएर आगो लगाई ज्यान मार्ने उद्योग गरे । तर, अमृताले भान्सामा ग्यास दुर्घटनाले घटना भएको दाबी गरेपछि कारबाही अघि बढेन ।

आफूलाई जिउँदै आगो लगाउँदासमेत पीडितले घटना लुकाउने समाजका यी उदाहरण मात्र हुन् । तराईमा यस्ता थुप्रै घटना अझै लुकाइएका छन् । प्रहरीले गहन अनुसन्धान नगरिदिने हो भने न पीडितले न्याय पाउने अवस्था छ, न त दोषी कानुनी दायरामा आउने अवस्था छ ।

शरीर पूरै जलेकी १९ वर्षीया शिवा हास्मी भेरी अञ्चल अस्पतालको शय्यामा छटपटाइरहेकी थिइन् । अनुसन्धानमा संलग्न प्रहरीले उनलाई सोधे, “कसले हो ? भन हामी कारबाही गर्छौं ।” शिवाले आफ्ना प्रेमी बाबु खानले आगो लगाएको बताइन् । भनिन्, “मेरा दाइहरूले हैन ।” प्रहरी अनुसन्धानपछि भने नरुचाएको केटासँग प्रेम गरी विवाह गर्न खोजेको रिसमा शिवालाई २१ मंसिर ०६९ मा पेट्रोल खन्याएर आगो लगाएको खुल्यो ।

शिवाले अन्तिम अवस्थासम्म वास्तविकता लुकाइरहिन् । उनको स्थिति झन् खराब बन्दै गयो । थप उपचारका लागि काठमाडौँ लगियो । तीन दिनपछि उनको मृत्यु भयो । प्रहरीले शिवाको बयानलाई आधार बनाई प्रेमी बाबु खानलाई पक्राउ गर्‍यो । तर, छिमेकीले पत्याएनन् । परिवारबाटै आगो लगाइएको आशंकामा गहिरो अनुसन्धानको माग गर्दै गुलरियामा प्रदर्शन भए । प्रहरी र प्रशासन कार्यालयमा धर्ना दिइयो ।

चौतर्फी दबाबपछि प्रहरीको अनुसन्धानबाट खुल्यो, शिवालाई आगो लगाउने अरू कोही नभएर उनकै दाजुहरू रेहान अहमद र रिजवार अहमद हास्मी थिए । जिल्ला न्यायाधीश वसन्तराज पौडेलको इजलासले रेहान र रिजवानलाई जन्मकैदको फैसला सुनायो । आमा हसिनालाई दुई वर्षको कैद सुनाइयो । सुरुमा आरोप लगाइएका बाबुले सफाइ पाए ।

भुजईगाउँकी हेमकुमारीको पनि उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । उनका पति गयाप्रसादविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । लामो उपचारपछि पूजा सन्चो भइन् । तर, उनले पतिविरुद्धको मुद्दा भने फिर्ता गर्न चाहेकी छन् । उनका पति पवन पुर्पक्षका लागि थुनामा छन् । “मुद्दा फिर्ता गर्नुपर्‍यो भनेर फोन गरेको गर्‍यै छिन् । मिल्दैन भन्दा पनि दबाब दिइरहेकी छन्,” नि:शुल्क कानुनी सहायता केन्द्रकी अधिवक्ता सुनिता शर्मा भन्छिन्, “पारिवारिक दबाब यति धेरै छ कि मुद्दा फिर्ता नभए घर निकाला हुने स्थिति छ ।”

बाँकेमा जिउँदै आगो लगाउनेजस्ता क्रुर घरेलु हिंसाका घटना दोहोरिइरहेका छन् । ३ चैत ०७० मा बाँके, लक्ष्मणपुरकी रिहाना ढपालीलाई उनका पतिले आगो लगाए । माइतीको सहयोगमा आँट गरेर मुद्दा अघि बढाएपछि उनका पति फरार भए । अहिले भारतमा लुकेर बसेको आशंका गरिएको छ । ६ जेठ ०७१ मा जयसपुर–५ की चन्दा नाउ र उनका नाबालक छोराछोरीलाई देवरले पेट्रोल छर्केर आगो लगाए । नाबालक दुई सन्तानको ज्यान गयो । गम्भीर रूपमा जलेकी चन्दाल लामो उपचारपछि निको भएकी छन् ।

अमानवीय घरेलु हिंसामा पर्दासमेत दोषीविरुद्ध उजुरी वा बयान नदिनुको पहिलो कारण पीडितलाई कानुनी ज्ञान नहुनु हो । पति वा आफन्तलाई नै कारबाही हुने स्थितिमा आफू झन् धेरै समस्यामा पर्ने र बेसहारा हुने ठानेर धेरैजसो पीडितले मुख नखोल्ने अधिवक्ता वसन्त गौतम बताउँछन् । भन्छन्, “आफन्तविरुद्ध उजुरी वा बयान दिए घर निकाला हुने डरले धेरैले सत्य बोल्दैनन् । सहज रूपमा न्याय पाउनेमा पनि धेरैजसो पीडितहरू शंका मान्छन् ।”

पीडित र परिवारले समयमै घटनाको सही विवरण नदिँदा अनुसन्धान प्रभावित हुने र प्रमाण जुटाउन नसक्दा दोषी उम्किने गरेको प्रहरी अनुभव छ । प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्, “अनुसन्धानका लागि पनि समुदायको साथ चाहिन्छ । पीडितले नै घटना लुकाए वा बंग्याएपछि प्रहरीलाई गाह्रो हुन्छ ।” बेलैमा घटनाको जानकारी पाउन सके मात्र पनि प्रहरी अनुसन्धानमा धेरै सहयोग पुग्ने उनी बताउँछन् ।
घरेलु हिंसामा परेका महिलाको स्थिति यतिसम्म दयनीय छ कि उनीहरू घर र माइतीबाटै सहाराविहीन भएका छन् । आफैँलाई जलाएर जेल परेका पति फर्किएपछि उनैसँग बस्नुपर्नेसम्मको बाध्यता छ ।

जस्तो : दाइजो नल्याएको निहुँमा भएको घर झगडामा नेपालगन्जकी हास्रुन इद्रिसीलाई २० कात्तिक ०६४ मा पति र सासूले आगो लगाए । बाँके जिल्ला अदालतले उनका पति बसिम इद्रिसी र सासू रुक्सनालाई दोषी ठहर गर्दै ६ माघ ०६५ मा क्रमश: सात र पाँच वर्ष जेल सजायको फैसला गर्‍यो । जेलबाट फर्केपछि उनी तिनै पतिसँग बसेकी छिन् ।

महिला तथा बालबालिका कार्यालयका अनुसार दैनिक कम्तीमा पनि तीन जना महिला घरेलु हिंसाका गुनासा लिएर आउने गरेका छन् । “महिला हिंसाका जघन्य अपराध गत वर्षको तुलनामा डरलाग्दोसँग बढेका छन्,” महिला विकास कार्यालयमा घरेलु हिंसाका निवेदन हेर्दै आएकी विन्दु कुँवर भन्छिन्, “प्रभावकारी अभियानबिना यो कम हुने स्थिति छैन ।”

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल मधेसी र मुस्लिम समुदायभित्र शृंखलाबद्ध ढंगले आगो लगाउनेजस्ता क्रुर हिंसा बढ्नु गम्भीर अनुसन्धानको विषय भएको बताउँछन् । भन्छन्, “महिला हिंसाको कारण दाइजो हो वा आयसँग जोडिएको छ अथवा लैंगिक विभेद हो, अध्ययन गर्न जरुरी छ ।”

जलाउने पतिसँगै

दाइजो नल्याएको निहुँमा २० कात्तिक ०६४ मा हास्रुन इद्रिसी जिउँदै जलाइन् । बाँके जिल्ला अदालतले उनका पति बसिम इद्रिसी र सासु रुक्सनालाई दोषी ठहर गरी क्रमश: सात र पाँच वर्ष जेल सजायको फैसला गर्‍यो । तर, जेल सजाय बेहोरेर फर्किएपछि भने उनी आफूलाई जलाउने पतिसँगै मिलेर बसेकी छन् ।

बसिमले जेलमा पनि राम्रो व्यवहार देखाए । त्यसैले उनी आधा कैद मिनाह भई साढे तीन वर्षमै छुटे । बसिम हास्रुन र छोराछोरीलाई लिन ससुराली गए । गल्ती स्वीकारे । अनि, सँगै बस्ने प्रस्ताव गरे । “सजाय पाइसकेपछि पनि मलाई लिन आए,” २७ वर्षीया हास्रुन भन्छिन्, “मैले पनि नकार्न सकिनँ । अहिले हाम्रो सम्बन्ध राम्रो छ ।”

घरेलु हिंसाको सिकार भएकी हास्रुनलाई उपचार र राहतमा धेरैले सघाए । उनलाई नि:शुल्क सिलाइकटाइ तालिम पनि दिइयो । जीविकोपार्जनका लागि केही सहयोग पनि पाइन् । तर, बिस्तारै बेसहारा भएकी उनी पति जेलबाट फर्केपछि सँगै बस्ने निर्णयमा पुगिन् । हास्रुन भन्छिन्, “हातमुख जोर्नसमेत मुस्किल थियो, त्यस्तो बेला विगत बिर्सौं, सँगै बसौँ भनेर उनी (पति) आए । मैले नाइँ भन्न सकिनँ ।

मुद्दाका पक्ष–विपक्ष भई अदालतबाट जेल सजायको फैसला भइसकेपछि धेरैका घरबार भताभुंग हुन्छन् । तर, बसिमले विगतप्रति पश्चात्ताप गरेर हास्रुन र छोराछोरी सम्हाले । पहिले दाइजो नल्याएको निहँ‘मा दिनहुँ झगडा भइरहन्थ्यो । तर, अचेल कुनै झगडा छैन । उनीहरू दुवै जना सिलाइकटाइको कमाइ गरेर जीवन चलाइरहेका छन् । आजको कान्तिपुर दैनिक बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL