नेपाल जिकाको जोखिममा : विशेषज्ञ
‘रोकथामका लागि मुलुक सुहाउँदो रणनीति आवश्यक’ सीमामा स्वास्थ्य जाँच डेस्क स्थायी रूपमै सञ्चालन गर्न सुझावभाद्र २१, २०७३- विशेषज्ञहरूले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिँदै तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन्।
सानो टाउको भएका बालबालिका जन्मन थालेपछि मात्र यो संक्रमण भित्रिएको थाहा पाउने स्थिति आउनुभन्दा पहिले नै बचाउको रणनीति बनाउन जोड दिएका हुन्। नेपालीहरू कार्यरत मलेसिया तथा सिंगापुरमा जिकाको संक्रमण देखिएपछि विज्ञहरू चिन्तित भएका हुन्।
सिंगापुरमा २१ चिनियाँ, १३ भारतीय तथा ६ बंगलादेशीसहित १ सय १५ जनामा यो संक्रमण देखिएको छ। सिंगापुरबाट मलेसिया फर्केकी एक महिलामा समेत यो संक्रमण देखिएको छ। मलेसियामा करिब ६ लाख नेपाली कामदार छन् भने सिंगापुरमा करिब ११ हजार नेपाली कार्यरत छन्। सिंगापुरमा कार्यरत १३ भारतीय कामदारमा जिका संक्रमणपछि उपचार भइरहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
मुलुकमा डेंगु र चिकनगुनियाको संक्रमण फैलाउने एडिस जातको लामखुट्टे नै जिका संक्रमणका लागि जिम्मेवार मानिन्छ। जिका भाइरसको लक्षण चिकनगुनिया र डेंगुको जस्तै हुन्छ। ‘हामी जिका संक्रमणको अन्यन्त ठूलो जोखिममा छौं, मैले बर्सेनि डेंगु लागेर उपचारका लागि मलेसियाबाट आउने नेपाली कामदारको उपचार गर्दै आएको छु,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन भन्छन्, ‘त्यहाँबाट जिका संक्रमित एक जना यहाँ आए र तिनलाई स्थानीय एडिस एजिप्टी जातको लामखुट्टेले टोक्यो भने एक–दुई हुँदै मुलुकमा नै यो संक्रमण फैलिन सक्छ।’
यति मात्र नभएर दक्षिण भारत, थाइल्यान्डबाट समेत प्रशस्त मात्रामा नेपाली विद्यार्थी उपचारका लागि राजधानी आउँछन्। त्यहाँ यसको संक्रमण देखिए मुलुकमा फैलिनबाट रोक्न गाह्रो हुने विशेषज्ञहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जिका भाइरसको प्रसारलाई लिएर गत १ फ्रेबुअरीमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालीन स्थितिको घोषणासमेत गरिसकेको छ। यो घोषणाको ३ दिनपछि नेपालमा समेत स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रसूति, स्नायु रोग लगायतका विशेषज्ञ सम्मिलित एउटा बैठक भएको थियो। उक्त बैठकले टाउको सानो भएको शिशुको जन्म र एक्कासि हुने पक्षाघात (गुलियम ब्यारी सिन्ड्रोम) देखिए तुरुन्त स्वास्थ्य संस्थामा खबर गर्नुपर्ने निष्कर्ष निकालेको थियो। स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने, ‘उक्त बैठक गर्नुबाहेक अझैसम्म हामीले भएका स्रोत साधनको अधिकतम उपयोग गरेर यो संक्रमणबाट बचाउन खासै प्रयास गरेका छैनौं।’

सरकारले सबभन्दा पहिले एयरपोर्ट र सीमामा भएका स्वास्थ्य जाँच डेस्कलाई स्थायी रूपमै थप व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने डा.पुनको सुझाव छ। उनले भने, ‘एक–दुई जनामा देखियो भने यो देशभर फैलिन्छ, नियन्त्रण गर्न सिंगापुरलाई गाह्रो भइरहेको छ भने हाम्रो के स्थिति होला सहजै अनुमान गर्न सकिन्छ।’
वैज्ञानिकहरूले जिका भाइरस भारतमा फैलिने खतरातर्फ संकेत गरिसकेका छन्। त्यहाँको एक अर्ब २० करोडको जनसंख्या जिकाको जोखिममा रहेको औंल्याउँदै डा.पुनले भने, ‘हामी हाल अप्रभावित छौं, तर यहाँ जिका फैलाउने लामखुट्टे, संक्रमणका लागि उपयुक्त वातावरण भएकाले कुन बेला कसरी यो संक्रमणले हामीलाई आफ्नो फन्दामा लिन्छ भन्न गाह्रो छ।’
इपिडिमियोलोजी शाखाका प्रमुख डा.गुणनिधि शर्माका अनुसार जिका रोगका लागि सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई फोकल अस्पतालका रूपमा तोकेको बताउँछन्। हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत जिका रोग पहिचान गर्ने परीक्षण कीट राखिएको छ। तर टेकु अस्पतालमा यसका लागि कुनै खास व्यवस्था नगरिएको दाबी गर्दै एक चिकित्सकले भने, ‘यहाँ कसरी जिकाको उपचार गर्ने, न त यहाँ आईसीयू छ, न त आइसोलेसन वार्ड (छुट्टै राखेर उपचार गरिने विशेष कोठा) छ।’
इपिडिमियोलोजीले सबै संक्रामक रोग उपचारका लागि टेकु अस्पताल तम्तयार रहेको देखाए पनि रोगको प्रकोप देखिए उपकरणलगायत अभावमा केही गर्न सक्ने स्थिति नरहेको ती चिकित्सकले बताए। उनले सरकारले तुरुन्त टेकु अस्पताललाई सरुवा रोगको संक्रमणसँग जुध्ने खालको बनाउनु अत्यावश्यक रहेको बताए।
‘गर्भवतीका लागि खतरनाक’
मुलुकमा देखिएको डेंगीभन्दा जिका भाइरस अलि नरम प्रकृतिको रहे पनि यो गर्भवती वा गर्भधारण गर्न खोज्ने महिलाका लागि धेरै खतरनाक हो। यो भाइरसको संक्रमणले गर्दा थुप्रै बच्चामा जन्मजात विकार देखिएको छ। यसअन्तर्गत बच्चा माइक्रोसिफैलीबाट पीडित देखिएका छन्। उनीहरूको गिदी र मस्तिष्क अविकसित रहन्छ। माइक्रोसिफैली एक प्रकारको ‘स्नायुसम्बन्धी असामान्यता’ हो। आजको कान्तिपुर बाट







