इंग्ल्यान्डका कप्तान इयान मोर्गनले सोधे– नेपालको म्याच कहिले छ ?
इंग्ल्यान्डलाई सुशनको गुगलीभाद्र १८, २०७३- न्युक्वुविरुद्ध शनिबार उनीहरूकै मैदानमा सटरडे लिगमा उत्रिँदा नेपालका युवा स्पिनर सुशन भारीको जोस छुट्टै हुनेछ । दुई महिनाअघि इंग्ल्यान्ड गएका उनले सोमबार पृथक् अनुभव बटुलेका थिए, जुन सम्भवत: उनले जीवनभर भुल्ने छैनन् ।
नेपाल क्रिकेट खेलाडी संघको पहलमा सुशन कोर्नवाल क्रिकेट लिगका लागि फालमाउथ क्रिकेट क्लबबाट खेल्न इंग्ल्यान्ड गएका थिए । उनले फालमाउथबाट ७ म्याच खेलिसकेका छन् । त्यसमा दुई वर्षाले बिथोलेको छ । ५ दिनअघि भने उनले पाकिस्तानसँगको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तयारी गरिरहेको इंग्ल्यान्डका ब्याट्सम्यानलाई बलिङ गर्न पाएका थिए ।
फालमाउथका प्रशिक्षक सिन हुपरले २२ वर्षे सुशनलाई त्यो अवसर मिलाइदिएका थिए । इंग्ल्यान्ड र पाकिस्तानबीचको उक्त खेल नर्टिङघमको ट्रेन्टब्रिजमा भएको थियो । हुपरलाई नर्टिङघममा रहेका आफ्ना साथीले नेपालमा अन्तर्राष्ट्रिय खेलाडी छ, स्पिन बलिङ गर्छ
भनेपछि आफूलाई इंग्ल्यान्डको क्याम्पमा बलिङ गर्न बोलाइएको सुशन बताउँछन् । इंग्ल्यान्डका ब्याट्सम्यानलाई सुशनले २ घन्टा बलिङ गरेका थिए ।
इंग्ल्यान्डले उक्त खेलमा ४ सय ४४ रन बनाएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको थियो । एलेक्स हेल्सले १ सय ७१ रन बनाई इंग्ल्यान्डबाट सर्वोच्च स्कोर बनाउने कीर्तिमान बनाएका थिए । जोस बटलरले २२ बलमै अर्धशतक बनाएका थिए । यो इंग्ल्यान्डका ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा तीव्र अर्धशतक हो ।
‘हेल्सले नेट्समा ब्याटिङ सकाइसकेका थिए । त्यसपछि मैले इयान मोर्गन, जेसन रोय, बटलर, बेन स्टोक्स र मोइन अलीलाई बलिङ गरेको थिएँ । मोर्गनलाई आउट पनि गरें । त्यहाँको अफिसियलले राम्रो छ अभ्यास गरिरहनु भने,’ सुशनले भने, ‘मोर्गनले नेपालको म्याच कहिले छ भनेर सोधे ।’
मोर्गनले आयरल्यान्डको कप्तानी गर्दै सन् २००६ मा नेपालविरुद्ध श्रीलंकामा आईसीसी यू–१९ विश्वकपमा खेलेका थिए । उनले ८६ रन बनाए पनि आयरल्यान्डसँगको खेल नेपालले ६० रनले जितेको थियो । शरद भेषावकरको नटआउट ८२ रनमा नेपालले कोलम्बोमा भएको उक्त खेलमा ८ विकेट गुमाई २ सय ३४ रन बनाएको थियो ।
कोर्नवाल क्रिकेट लिगमा ९ टिम छन् । पाँचौं स्थानमा रहेको सुशनको टिमले २ खेल खेल्न बाँकी छ । शनिबार न्युक्वुसँग खेलेपछि फालमाउथले अर्को शनिबार सेन्ट जस्टसँग घरेलु मैदानमा खेल्नेछ । त्यसपछि सुशन सेप्टेम्बर १२ मा नेपाल फर्किनेछन् । बुटवल कालिकानगर घर भएका सुशनले इंग्ल्यान्डमा क्लब क्रिकेट क्लब खेल्ने क्रममा ९ विकेट लिइसकेका छन् ।
सुशनले २०१३ मा मलेसियामा एसीसी यू–१९ कप र यूएईमा एसीसी यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । सदावहार खेलाडी शक्ति गौचनका ‘चेला’ सुशन वैशाखमा काठमाडौंमा भएको नामिबियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा नेपाली टिममा परेका थिए । तर दुवै खेलमा उनले खेल्न पाएका थिएनन् । नेपाली टिममा उनकै गुरु शक्तिसहित वसन्त रेग्मी र सन्दीप लामिछानेको स्पिन बलिङमा दबदबा छ । ‘राष्ट्रिय टिममा एक पटक परियो, खेल्न पाइएन । अब खेल्ने हिसाबमै टिममा आउँछु । अहिले इंग्ल्यान्डको अनुभव बटुलेको छु, चाँडै राष्ट्रिय टिममा आउँछु जस्तो लागेको छ,’ सुशनले भने, ‘प्रदर्शन राम्रो गरे टिममा आउन सकिन्छ । तर अहिलेको स्थितिमा सजिलो भने छैन ।आजको कान्तिपुर बाट







