आजको पत्रपत्रीकाबाट Saturday, 3 Sep, 2016
Prestige Media

अब सरकारी अस्पतालमै बाेनम्याराे प्रत्याराेपण

भारतमाभन्दा प्रत्याराेपण नेपालमा एकचाैथाई सस्ताे

कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १८, २०७३- निजामती कर्मचारी अस्पताल (सिभिल) मा बोनम्यारो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । यससँगै रक्त क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिएको यो सेवा सरकारी अस्पतालमै सर्वसुलभ मूल्यमा प्राप्त हुने भएको छ । अस्पतालले कैलालीका रेडिक्स भट्ट (परिवर्तित नाम) मा बोनम्यारो प्रत्यारोपण गरेको हो । रक्त क्यान्सर तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्यालको टिमले प्रत्यारोपण गरेको हो ।

हाल काठमाडौंकै एक कलेजमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत रेडिक्सलाई २०७२ कात्तिकमा ‘टिसेल नन् हज्किन्स लिम्फोमा’ (रगत क्यान्सर) भएको पत्ता लागेको थियो । एसएलसीको तयारीमा रहेकै बेला अचानक बिरामी परेपछि रोग खुट्याउँदै र अस्पताल चहार्दै काठमाडौंसम्म आइपुग्दा उनलाई रगतको क्यान्सर भएको पत्ता लागेको थियो । ‘चिकित्सकहरूले त पहिले नै नराम्रो रोग हुन सक्छ भनेका थिए,’ रेडिक्सका बुवाले भने, ‘४० औं पटकको टेस्टमा रगतको क्यान्सर देखियो ।’

रेडिक्सले भने डाक्टरहरूले रक्त क्यान्सर भएको अनुमान गरिरहँदा पनि आफूलाई घातक रोग नलागेको जस्तो लागेको बताए । ‘टीकापुर घटनापछि कैलाली अशान्त थियो । म बिरामी नै थिएँ,’ उनले भने, ‘दसैंपछि भने म धेरै नै बिरामी परें । नाकाबन्दी थियो । बुवाले पेट्रोल खोजखाज गरेर मोटरसाइकलमै राखेर नेपालगन्ज लानुभयो । त्यहाँ डा. राजन पाण्डेले हेरेर सिभिल अस्पताल रिफर गरिदिनुभयो । त्यसपछिको उपचार यही नै भइरहेको छ ।’

रक्त क्यान्सर भएको पत्ता लागे पनि केही हरेस नखाई रेडिक्सले औषधि र किमो लगाएकै भरमा एसएलसी दिए र राम्रो ग्रेड ल्याएर पास भए । उनको दृढता र इच्छाशक्तिको अगाडि क्यान्सरले हार खायो र पाएको सफलताले रोगसँग लड्ने नयाँ ऊर्जा दियो । ‘मैले फागुन ६ गते र २६ गते गरेर दुई पटक किमो लिएर चैत १८ देखि एसएलसी दिएको थिएँ,’ १९ दिनदेखि चिकित्सक र नर्सबाहेक कसैले पनि प्रवेश गर्न नपाउने विशेष प्रकारको कोठामा रहेका उनले भने ।

उनले भने, ‘धेरै नै पढाइ छुटेकाले अझै राम्रो गर्न सकिनजस्तो लाग्छ ।’

सामान्य शिक्षकका छोरा रेडिक्सको लक्ष्य 
मुटुरोग विशेषज्ञ बन्ने थियो । आफूलाई रगतको रोग लागेर ग्रस्त बनाएसँगै उनले रगतको रोगका बारेमा धेरै तथ्य थाहा पाए । त्यसमा पनि आफ्नै क्षेत्रका धेरै थारूहरूमा सिक्कलसेल एनिमिया (रगतसम्बन्धी रोग जसको उपचार बोनम्यारो प्रत्यारोपणबाट मात्रै सम्भव छ) हुने गरेको थाहा भएपछि उनमा अब रगतरोग विशेषज्ञ बन्ने हुटहुटी जागेको छ ।

भट्ट परिवारका कान्छो छोरा रेडिक्सका दाइ र दिदी दुवै एमबीबीएस अध्ययन गर्दै छन् । दाइ र दिदी डाक्टर हुने भएपछि उनलाई पनि आफू डाक्टर नै हुन्छु भन्ने लागेको छ । ‘पहिला मलाई सबैमा टप गरेपछि मात्रै कार्डियोलोजिस्ट हुन पाइन्छ भन्ने लागेको थियो । त्यसैले मुटुरोग विशेषज्ञ बन्नु मेरो लक्ष्य थियो,’ उनले भने, ‘अहिले भने मलाई रगतरोग विशेषज्ञ बनेर कैलालीमा क्यान्सर अस्पताल खोल्न मन छ ।’

सरकारी अस्पतालमा प्रत्यारोपण सुरु गर्दाको संघर्ष
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुनु देशकै लागि ठूलो उपलब्धि ठान्छन् डा. विशेष पौड्याल । ‘मैले सन् २००७ मा पढाइ सकेर वीर अस्पतालमा आएर काम गर्न थालेसँगै बोनम्यारो प्रत्यारोपण गरौं भनेको थिएँ ।

त्यहाँ हेमाटोलोजी विभाग सुरु भएपछि हामीले बिरामीको उपचार गर्न थाल्यौं । तर रिल्याप्स भएपछि भारत पठाउनुपर्ने बाध्यता भयो,’ उनले भने, ‘बिरामीलाई भारत पठाउन नपरोस् भनेर वीरमै प्रत्यारोपण सुरु गरौं भन्दा कसैले मेरो कुरै सुनेनन् ।’ नेपालको सरकारी अस्पताल प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य एक दशकपछि सिभिलमा पूरा भएकाले डा. पौड्याल निकै हर्षित छन् ।

वीरमा सुरु गर्ने प्रस्तावको सुनुवाइ नभएपछि हतोत्साहित भएर उनी २००९ मा भारतको सीएमसी भेलोरमा अध्ययन गर्न गएका थिए । त्यहाँ केही समय अध्ययन गरेपछि उतै बस्ने वा विदेशमै कतै गएर काम गर्ने मानसिकता बनाइसकेका थिए उनले । तर, भेलोरमा रहँदा एक भारतीय चिकित्सकको भनाइले उनको मनमा नमीठो तुष पैदा गरिदियो । त्यही तुषलाई मेट्न उनी नेपाल नै फर्केर पुन: संघर्ष गर्ने सोचमा पुगे ।

‘भेलोरमा पढदै गर्दा त्यहाँका एक वरिष्ठ चिकित्सकले म नेपाली भएको थाहा पाएपछि भने, ए नेपालमा पनि डाक्टर हुन्छ ? मैले त मुम्बईका बहादुर मात्रै देखेको छु, उनको त्यो कुराले मेरो मनमा ठेस लाग्यो र तिमीहरूले यहाँ गर्ने उपचार म नेपालमै गरेर देखाइदिन्छु भनेर यहाँ फर्केको हुँ,’ सिभिल अस्पतालको ल्याबमा रेडिक्सको पछिल्लो ल्याब रिपोर्ट हेरेर मुसुक्क हाँस्दै उनले भने । २०११ मा नेपाल फर्किएपछि उनी पुन: वीरमा नै गएँ । तर त्यहाँ हेमाटोलोजी वार्ड नै बन्द भइसकेको थियो । त्यति नै बेला सिभिल अस्पताल खुल्दै थियो । ‘डा. विमल थापालाई आएर भेटें र आफ्नो योजना सुनाएँ । उनले यस अस्पतालमा प्रत्यारोपण गर्नका लागि सबै काम गर्ने तत्कालै प्रतिबद्धता जनाएपछि यहाँ काम सुरु गरेको हुँ,’ डा. पौड्यालले भने ।

सिभिलमा काम गर्न थाले पनि भनेको समयमा सरकारी बाधा अडचनले गर्दा प्रत्यारोपण नहुने देखेपछि २०१२ मा उनले सिनामंगलस्थित नोबेल अस्पताल नेपालमै पहिलो पटक बोनम्यारो प्रत्यारोपण सफलतापूर्वक गरे ।

‘निजी अस्पतालमा प्रत्यारोपण गर्नु र सरकारी अस्पतालमा गर्नुमा धेरै ठूलो भिन्नता छ । नेपालमा निजी अस्पतालमा प्रत्यारोपण गर्दा भारतमा प्रत्यारोपण गर्न लाग्नेभन्दा आधा पैसा लाग्छ । तर सरकारीमा गर्दा निजीको पनि आधीमा हुन्छ,’ उनले भने, ‘भनाइको मतलब अब धेरैमा ५ लाखदेखि ७ लाख रुपैयाँमा नै प्रत्यारोपण नेपालमा हुन्छ ।’

सिभिल अस्पतालका निर्देशक डा. विमल थापाका अनुसार बोनम्यारो प्रत्यारोपण सुरु भएपछि सिभिलले नेपालमा रगतरोगीका लागि विशिष्ट रेफरल सेन्टरको दर्जा पाएको छ । ‘हामीले धेरै मेहनत गरेर यहाँ प्रत्यारोपण गरेका हौं,’ उनले भने, ‘प्रत्यारोपणका लागि चाहिने विशेष प्रकारको कोठालगायत अन्य उपकरण खरिद गर्न र त्यसलाई जोड्न केही समय लागेकाले ढिला भएको हो ।’

उनका अनुसार सिभिल अस्पतालमा प्रत्यारोपण गर्न भारतको तुलनामा एक चौथाइ कम पर्छ । भारतमा २५ लाखदेखि ३० लाख रुपैयाँ खर्च लाग्ने यो सेवा सिभिलमा ५ लाखदेखि ७ लाख रुपैयाँमा उपलब्ध छ । ‘हामीले अमेरिकन प्रोटोकलअनुसार विश्वमै सस्तो प्रत्यारोपण गर्न सफल भएका छौं,’ उनले भने, ‘यो नेपाली चिकित्सा क्षेत्रकै उपलब्धि हो ।’ सिभिलमा हरेक वर्ष करिब ४ सय जना रक्त क्यान्सरका बिरामी आउनेमा आधाभन्दा बढीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने डा. पौडेलले जानकारी दिए । विरामी भट्टको
गत साउन ३० गते बोनम्यारो प्रत्यारोपण गरिएको हो ।

सिभिल अस्पतालकाे रक्तराेग विभागमा कार्यरत चिकिस्तक तथा प्राविधिकहरु ।

अमेरिकी विश्वविद्यालयसँगको सहकार्य
सिभिल अस्पतालको रगतरोग विभाग अमेरिकाको इलिनोइस विश्वविद्यालयको रगतरोग विभागसँग आबद्ध छ । अमेरिकाको यो संस्थाले रगतरोग उपचारका लागि विश्वमै ख्याति कमाएको छ । इलिनोइसले सिभिल अस्पतालको रगत रोगको उपचारका लागि चाहिने जनशक्ति तयार पार्न तथा अमेरिकीस्तरको उपचार प्रदान गर्न आवश्यक पर्ने सीप सिकाउँदै आएको छ । ‘हामीलाई इलिनोइस विश्वविद्यालयले अमेरिकी प्रोटोकल तथा ज्ञान दिन्छ,’ डा. विशेषले भने, ‘त्यहाँको रक्तरोग विभागका प्रमुख प्रा. डामियानो रोन्डेलीले यहाँ प्रत्यारोपण सुरु गर्न धेरै नै सहयोग गर्नुभएको छ ।’

इलिनोइस विश्वविद्यालय र विनयतारा फाउन्डेसनले नेपाली चिकित्सक, नर्स तथा अन्य प्राविधिकहरूलाई अमेरिका लगेर तालिमसमेत दिएको छ । यस्तै भविष्यमा पनि थप जनशक्ति तयार पार्न अरू चिकित्सक तथा प्राविधिकलाई पनि तालिम दिने इलिनोइस विश्वविद्यालयका रगतरोग विभागका प्रमुख प्रा. डामियानो रोन्डेलीले इमेलमार्फत बताएका छन् । ‘हामी नेपाली चिकित्सक तथा प्राविधिकलाई दक्ष बनाउन सकेको सबै सहयोग गर्न तयार छौं,’ उनले भने, ‘निकट भविष्यमा नै यहाँ अध्ययनरत विद्यार्थीलाई नेपालमा केही समय अध्ययन गर्न पठाउने कोसिस पनि गर्दैछौं ।’

थारूहरूलाई धेरै फाइदा
विशेष गरेर नेपालको पश्चिम क्षेत्र बसोबास गर्ने थारू समुदायमा देखिएको सिक्कलसेल एनिमियाको एकमात्र उपचारको माध्यम बोनम्यारो प्रत्यारोपण हो । विश्वका विभिन्न भागमा भिन्न–भिन्न समुदायमा देखिने यो आनुवंशिक रोग नेपालमा भने थारू समुदायका मानिसमा मात्रै देखिएको छ । प्रा. रोन्डेलीका अनुसार सिक्कलसेल एनिमिया बोनम्यारो प्रत्यारोपणपछि ९० प्रतिशत निको हुन्छ । ‘सिक्कलसेल उपचार गर्न सकिने रोग हो । तर नेपालमा बोनम्यारो प्रत्यारोपण नभएकाले धेरै मानिसले अकालमा नै ज्यान गुमाइरहेका थिए । तर अब त्यो युगको अन्त्य हुन्छ भन्ने मैले ठानेको छु,’ उनले भने ।

इलिनोइस विश्वविद्यालय बिना किमो सिक्कलसेल भएका बिरामीमा बोनम्यारो प्रत्यारोपण गर्ने विश्वकै एक अग्रणी ठाउँ हो । यही पद्धति नेपालमा पनि सुरु गर्ने योजना सिभिल अस्पताल र विश्वविद्यालयको रहेको पनि प्रा. रोन्डेलीले दाबी गरे ।

बोनम्यारो प्रत्यारोपण भनेको के ?
बोनम्यारा नली हाडभित्र हुने मासी हो । बोनम्यारोभित्र ‘स्टेम सेल’ भन्ने विशेष प्रकारको कोष हुन्छ । यसै कोषले रगतका अन्य विभिन्न रक्तकोष निर्माण गर्छ । स्टेम सेल थोरै मात्रामा रगतमा पनि हुन्छ । विभिन्न औषधिको प्रयोगले बोनम्यारोभित्रका ती स्टेम सेललाई रगतमा ल्याउन सकिन्छ र शरीरबाट रक्तदान गरेझैं सजिलै बाहिर निकाल्न सकिन्छ ।

रक्त सञ्चार सेवाले रक्तदाताहरूबाट संकलन गरेको रगतमा पनि स्टेम सेल हुन्छ । रगतदान गरेझैं स्टेम सेल निकाल्ने र रगत दिए जस्तै गरी स्टेम सेल दिइने हुनाले बोनम्यारो प्रत्यारोपणलाई ‘स्टेम सेल प्रत्यारोपण’ वा ‘स्टेम सेल ट्रान्सफ्युजन’ पनि भनिन्छ । त्यसैले विकसित मुलुकहरूमा बोनम्यारो प्रत्यारोपणलाई अंग प्रत्यारोपण नीतिअन्तर्गत राखिएको हुँदैन ।

बोनम्यारो प्रत्यारोपण दुई किसिमका हुन्छन् अटोलोगस र एलोजेनिक । अटोलोगस भन्नाले कुनै पनि व्यक्तिको शरीरबाट स्टेमसेल निकालेर त्यही व्यक्तिलाई दिनु हो । यस्तै एलोजेनिक भनेको चाहिँ एउटा व्यक्तिको शरीरबाट झिकिएको स्टेम सेल अर्को व्यक्तिलाई दिनु हो ।

सिभिल अस्पतालकाे रक्तराेग विभागमा कार्यरत चिकिस्तक तथा प्राविधिकहरु ।आजको कान्तिपुर बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL