आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान
काठमाडौं। सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ सम्म जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती वालबालिकालाई एक हजार ६ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए। पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनको भनाइ छ। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।
काठमाडौं महानगरमा दुई लाख ५० हजार बालबालिका छन्। काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शंखरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ देखि र काठमाडौँ महानगरपालिकामा फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एक जना स्वयंसेवक परिचालन गरिनेछ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ।
गत वर्ष काठमाडौंमा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना संक्रमित र एक जनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।







