श्रीमती र दुई छोराछोरीको हत्या गर्ने निर्दयी बाबुले गरे आत्महत्या
काठमाडौं–नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। हत्यामा ईश्वरीका श्रीमानको संलग्नता रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजीकै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
उनले भने, ‘परिवारका सदस्यको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ।’ आज बिहान साढे ९ बजेतिर कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जंगलमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो।







