सर्वोत्तम सिमेन्टको आइपिओ म्याद थप
काठमाडौं। सर्वोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयका लागि खुलाएको आइपिओमा आवेदन दिने म्याद थपेको छ। बुधबार आइपिओ आवेदन दिने म्याद रहेकाका कम्पनीले स्थानीयका लागि आगामी माघ २५ सम्म समयावधि थपेको हो।
कम्पनीले बुधबारसम्म स्थानीयबाट मागअनुसार आवेदन नपरेपछि म्याद थपिएको जनाएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको छ।
लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।
उद्योग प्रभावित क्षेत्र नवरपरासीको सुनवल नगरपालिका वडा–३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा–१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा–२, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा–१, २ र ३, माथागढी गाउँपालिकाको वडा– ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा–७ का स्थानीयका लागि छुट्याएको छ।
कम्पनीले वैदेशिक रोजगारीका लागि खुलाएको आवेदन दिन म्याद बुधबार अन्तिम दिन हो।







