उपत्यकामा सञ्चालन हुँदै रात्रिकालीन सम्पदायात्रा
काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गरिन लागेको हो
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदाययात्रा सञ्चालन गरिने बताएका छन् । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन सम्पदायात्रा सुरु गरिन लागेको हो ।
मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा–यात्राले पर्यटक आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदा–यात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन, बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन् । पर्यटन व्यवसायी र स्थानीयाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ ।
ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीको भनाइ छ ।







