संविधान संशोधन र निर्वाचनको सम्बन्ध छैन : ओली
पुस १२, २०७३- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।
पत्रकारसँग एमाले केन्द्रीय कार्यालयमा संविधान कार्यान्वयन र निर्वाचन बारे छलफल गर्दै अध्यक्ष ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने बताएका थिए ।
‘संविधानविपरीत संविधान संशोधन आएकाले संसद्मा छलफल गर्न रोकेका हौँ । तर संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ ? के संसद्बाट निर्वाचन घोषणा गर्ने हो र ?’ उनले भने ।
निर्वाचन गराउनका लागि एमाले सरकारमा जान लागेको हो भन्ने प्रश्नको जवाफमा उनले वर्तमान सरकारको आयु चार महिना मात्रै रहेको बताउँदै भने, ‘अहिलेको गठबन्धनमा रहेका दलमा सहमति कार्यान्वयनको संस्कार नभएकाले त्यसपछि के हुन्छ हेर्दै जाउँ । तर एमालेले निर्वाचन गराउँछ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा गर्दै आफ्नो पार्टीले मुलुकलाई कुबाटोमा जान नदिई लोकतान्त्रिक बाटोमा अघि बढाउने जनाए । रासस







