डोल्पा (दुनै), २४ माघ । यहाँका पशुपालक कृषकलाई पहिलो पटक चरनखर्क व्यवस्थापन सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ ।
त्रिपुराकोट—२ स्थित बगरमा रहेको पशु उप–केन्द्रमा शनिबारदेखि सोमबारसम्म चलेको तालिममा मध्य डोल्पाका ६० भन्दा बढी पशुपालक कृषक सहभागी थिए ।
तालिममा व्यावसयिकरुपमा पालिएका पशुलाई चाहिने चरनखर्क, खोर व्यवस्थापन, रोग पहिचाहान, घरेलु उपचार, विषालु घाँस पहिचाहान र यसको प्रयोगबाट बिरामी परेका पशुलाई उपचार गर्ने तरिकालगायतका विषयमा जानकारी दिइएको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख चन्द्रलाल धरलाले जानकारी दिनुभयो ।
जिल्लामै पहिलोपटक सञ्चालन गरिएको उक्त तालिममा नकु, सर्मी, त्रिपुराकोट, माझफाल, जुफाल, सु–गाविसका स्थानीय समूहका कृषक तालिममा सहभागी थिए ।
जिल्लाको कुल भूभागमध्ये ३१ प्रतिशत जमिन चरनयोग्य भएकाले यहाँ पशुपालनका लागि सहज हुने उहाँ बताउनुहुन्छ ।
व्यावसायिकरुपमा पालन गरिएका पशुमा सामान्य रोग लागेर मर्ने गरेकामा आगामी दिन औषधि नपाइए पनि स्थानीय जडीबुटीबाटै सामान्य प्रकारको रोग निको हुनसक्ने ज्ञान पाइएको प्रशिक्षार्थी सन्तराम कुलालले बताउनुभयो । रासस