Breaking News Saturday, 28 Nov, 2026
Prestige Media

बोडेको होल्डिङ सेन्टरबाट सुकुम्बासी लखेट्न प्रहरी परिचालन, शुक्रबार दिनभरि के–के भयो?

मंसिर २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरका केही कर्मचारी बोडेको होल्डिङ सेन्टरमा आएका थिए।

उनीहरूले त्यहाँ बसिरहेका सुकुम्बासीलाई भनेका थिए, ‘अब तपाईंहरूले होल्डिङ सेन्टर छाड्नुपर्छ। सरकारले जग्गा दिएको ठाउँमा जानुहोस्।’

त्यति सुन्नेबित्तिकै ५८ वर्षीया कृष्णमाया राइगाईंले जबाफ फर्काएकी थिइन्, ‘जाऊ भन्नेबित्तिकै हामी जाँदैनौं। लालपुर्जा दिनुहोस्, तत्काल निस्किन्छौं।’

होल्डिङ सेन्टरमा बसिरहेका अरू सुकुम्बासीले पनि कृष्णमायाको कुरामा समर्थन जनाए।

त्यस दिन जिल्ला प्रशासनका कर्मचारीहरू चुपचाप फर्किए पनि कृष्णमायाको मनमा डर पस्यो — सरकारले थापाथलीको बस्तीबाट जस्तै यहाँबाट पनि एकाएक निकालिदिने त होइन?

फेरि कहाँ जाने? कहाँ बस्ने? के खाने?

कृष्णमायाको सात जनाको परिवार छ। छोरा–बुहारी र स–साना नातिनातिनाको भविष्य सम्झेर सरकारले कतै बसोबासको व्यवस्था गरिदेला, रोजगारीको अवसर जुटाइदेला भन्ने झिनो आशामा उनी यहाँ बसिरहेकी थिइन्।

सरकारले भने उनलाई तीन–चार दशकअघि नै श्रीमानले छाडेको गाउँ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका गएर समन्वय गर्न भनेको छ।

‘सरकारले छोड्न भने पनि यसै अलपत्र अवस्थामा नलखेट्लान् भन्ने लागेको थियो। तर मंसिर ९ गते बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र ठाउँ खाली गर्न भन्दै सूचना टाँसिदियो,’ कृष्णमायाले भनिन्, ‘दया नभएको सरकारले जे पनि गर्न सक्छ भनेर निदाउनै सकिनँ।’

प्रशासनले सूचना टाँसेपछि होल्डिङ सेन्टरभरि त्रास फैलियो। कहाँ जाने, के गर्ने भन्ने अन्योलमा सबै परे।

केही व्यक्तिले होल्डिङ सेन्टर छाडे। जाने ठाउँ कतै नभएकाहरू भने मरे पनि यहीँ मर्ने भन्दै मन दह्रो बनाएर बसेको कृष्णमाया बताउँछिन्।

बुधबार सूचना टाँसेर गएको प्रशासनले बिहीबार साँझ करिब ६ बजे प्रहरी पठायो।

दुई–तीन जना प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गरे।

त्यसपछि होल्डिङ सेन्टरभित्र रूवाबासी चल्यो।

‘कहाँ जाने, के खाने कुनै अत्तोपत्तो थिएन। ओत लाग्ने ठाउँ कतै छैन,’ कृष्णमायाले भनिन्, ‘सम्बन्धित जिल्लामा गएर बस्नू भन्छ। के हामी रूखको फेदमा गएर बस्नू?’

सरकारले कृष्णमायाको परिवारलाई भूमिहीन ठहर गरेको छ। तर सुनकोशी गाउँपालिकामा गएर समन्वय गर्न भनेकै भरमा होल्डिङ सेन्टर नछाड्ने उनको अडान छ।

बुधबार र बिहीबार दुवै रात उनी राम्ररी निदाउन सकेकी थिइनन्।

शुक्रबार बिहान सूर्य उदाउँदै गर्दा उनले घामतिर फर्केर दुई हात जोडिन्। भोलिको सूर्योदय देख्न पाउँछु कि पाउँदिनँ भन्ने उनलाई लागिरहेको थियो। उनले भगवानसँग आफ्नो परिवारको रक्षा गरिदिन पुकारिन्।

बिहान उठ्नेबित्तिकै उनले वरपर हेरिन् — प्रहरी आइसके कि?

कतै प्रहरी देखिनन्। तर उनको मन शान्त भएन।

खाना खुवाउने टोली पनि बिहीबार साँझ नै हिँडिसकेको थियो। अब छोराछोरी र नातिनातिनालाई के खुवाउने भन्ने अर्को पीर थियो।

यसअघिका दिनमा शान्ति सेवा गृहले बिहान साढे ८ बजेतिर चिया–बिस्कुट र बिहान–बेलुका खाना खुवाउँदै आएको थियो।

परिवारका सदस्य भोकभोकै बस्नुपरेपछि उनलाई सरकारप्रति आक्रोश जागिरहेको थियो। सन्तानको भोक देख्न नसकेर उनी नजिकैको पसल पुगिन्। बिस्कुट किनेर ल्याइन् र खुवाइन्।

समय आफ्नै गतिमा चलिरहेको थियो। कृष्णमायाको ध्यान भने एउटै कुरामा थियो — कति बेला २ बज्छ र सरकारले के गर्छ?

बिहान ९ बज्यो। कोही आएनन्।

१० बजे पनि उनले गेटतिर हेरिन्। कोही देखिनन्।

११ बजेपछि भने केही पत्रकार आएको खबर पाइन्।

‘पत्रकारहरू आए भनेपछि झन् अब निकाल्छ भन्ने त्रास भयो। त्यसैले अब गोली हाने पनि हान्छ भनेर बाहिर निस्किएँ,’ उनले भनिन्, ‘सन्तानलाई भोकभोकै राख्नुभन्दा सरकारको गोली खाएरै ज्यान दिन्छु।’

साँझ आफूहरू कहाँ पुग्ने हो भन्ने टुंगो नभएकाले उनले शुक्रबार नातिनातिनालाई विद्यालय पनि पठाएकी थिइनन्।

हाँस्ने–खेल्ने उमेरका नातिनातिनालाई कहिले भोकभोकै राख्नुपरेको छ, कहिले चिसो भुइँमा सुताउनुपरेको छ। यस्तो अवस्था सहनुभन्दा बरू सबैको एउटै चिहान बनाइदे सरकार भन्दै विरोधमा अगाडि सरेको उनले बताइन्।

दिउँसो १२ बजेतिर सञ्चारकर्मीहरूको उपस्थिति बाक्लिँदै गयो। एक बजेसम्म होल्डिङ सेन्टरको गेटबाहिर उल्लेख्य संख्यामा पत्रकार जम्मा भइसकेका थिए।

त्यति बेलासम्म प्रशासनका कर्मचारी वा वर्दी लगाएका प्रहरी आइपुगेका थिएनन्। सादा पोसाकका केही प्रहरी भने देखिन्थे।

दिउँसो १ बजेर २५ मिनेट जाँदा कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरको गेटअगाडि प्रहरीको एउटा गाडी रोकियो।

त्यसबाट प्रहरी ओर्लिएपछि होल्डिङ सेन्टरमा त्रास झन् बढ्यो।

सुकुम्बासीहरू भित्र–बाहिर गर्न थाले। केही प्रहरी गेटबाहिरै बसे। एक टोली प्रहरी होल्डिङ सेन्टरभित्र पस्यो। उनीहरू सुकुम्बासी बसिरहेका कोठासम्म भने पुगेनन्।

बन्दुक बोकेका सुरक्षाकर्मी देखेपछि सुकुम्बासीहरू आक्रोशित भए। सरकारले आफूहरूमाथि शक्ति प्रदर्शन गर्न खोजेको भन्दै विरोध गर्न थाले।

त्यहाँ त्रास र आक्रोशको माहोल उस्तै थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

साउदीको तेल प्रशोधन केन्द्रमा भएको हमलामा एक नेपालीको मृत्यु

श्रीमतीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि पक्राउ परे श्रीमान

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL