युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान
युक्रेनसँगको युद्धमा हालसम्म करिब साढे ७ लाख रूसी सैनिक मारिएको अध्ययनले देखाएको छ।
सन् २०२२ को फेब्रूअरीमा रूसले युक्रेनमाथि पूर्णस्तरको युद्ध सुरू गरेको थियो।
गत फेब्रूअरीबाट चार वर्ष पूरा भई युद्ध अहिलेको मितिसम्म आइपुग्दा झन्डै साढे ७ लाख रूसी सैनिक मारिएको नयाँ अध्ययनले देखाएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
रूसको सरकारी तथ्यांक विभाग (रोस्स्टाट)ले सन् २०२६ को सेप्टेम्बर अन्त्यसम्म ४ लाख ९० हजार रूसी सैनिकको मृत्यु अभिलेख गरेको छ।
विपक्षी सञ्चारमाध्यम मिडियाजोना र मेडुजाले मृत्यु दर्ता र बेपत्ता भएका सैनिकको समेत हिसाब गरी विश्लेषणसहितको तथ्यांकका आधारमा मृत्यु हुनेको सैनिक संख्या ७ लाख २० हजारभन्दा बढी पुग्ने अनुमान गरेको हो।
यो भनेको युद्ध सुरू भएयता औसतमा प्रत्येक चार मिनेटमा एक रूसी सैनिकको मृत्यु हुने नयाँ देखाएको सिएनएनले लेखेको छ।
यो संख्या सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सेनाले बेहोरेको क्षति र सन् १९९० तथा २००० को दशकमा चेचेन्यामा भएका दुई युद्धमा मारिएका सैनिकको कुल संख्याभन्दा बढी हो।
रूसले भने युद्धमा मारिएका सैनिकको वास्तविक संख्या लामो समयदेखि सार्वजनिक गर्न चाहेको छैन। सरकारी तथ्यांक र बेपत्ता सैनिक विवरण पनि सार्वजनिक गर्न रोक लगाएको छ।
रोस्स्टाटले युद्धमा मारिनेको संख्या बढ्दै गएको विवरण लुकाउन सन् २०२५ देखि जनसाङ्ख्यिक तथ्यांक समेत सार्वजनिक गर्न छाडेको थियो।
तर यसै महिनाको सुरूवातमा युक्रेन समर्थक दुई ह्याकर समूह साइबर पार्टिजन्स अफ बेलारूस र साइलेन्ट क्रोले रोस्स्टाटको सर्भरमा पहुँच बनाएर सरकारी तथ्यांक प्राप्त गरेको सिएनएनले जनाएको छ।
त्यसपछि मिडियाजोना र मेडुजासहितका सञ्चारमाध्यमले ती तथ्यांकको आधारमा विश्लेषण गर्दै मारिने रूसी सैनिकको नयाँ आकडा विश्लेषणसहित सार्वजनिक गरेका हुन्।
सिएनएनले भने यी तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाएको छ।
तर रोस्स्टाटबाट चुहिएका मृत्युका आधिकारिक विवरणले यसअघि पश्चिमा गुप्तचर निकाय र विश्लेषकहरूले गरेका अनुमानलाई समेत आधार दिएको छ।
पछिल्ला तथ्यांकले ती अनुमान वास्तविक मृतक संख्याभन्दा कम हुन सक्ने देखाएका छन्।
मिडियाजोना र मेडुजाले यसअघि पनि मृत्यु सूचना, सम्पत्ति उत्तराधिकारसम्बन्धी कागजात र सार्वजनिक अभिलेखका आधारमा रूसी सैनिकको मृत्युको विवरण संकलन गर्दै आएका थिए।
यसपटक भने उनीहरूले बीमा जोखिम र सम्भावित दाबीको हिसाब निकाल्न प्रयोग गरिने विधिबाट सरकारी तथ्यांक विश्लेषण गरेका हुन्।
मृत्यु भएको मिति र मृत्यु दर्ता भएको मितिबीचको अन्तर तथा आफन्तले बेपत्ता भएका व्यक्तिबारे प्रकाशित गरेका सूचनाको तुलना गर्दा मृत्यु भइसके पनि सरकारी अभिलेखमा दर्ता नभएका सैनिकको संख्या मात्रै करिब दुई लाख ३० हजार हुन सक्ने उनीहरूको अनुमान छ।
मिडियाजोनाले सन् २०२३ देखि आफन्तले बेपत्ता भएको जानकारी दिएका सैनिकको छुट्टै अभिलेख पनि राख्दै आएको छ।
उक्त सूचीमा एक लाख ६० हजार व्यक्तिको विवरण छ।
तीमध्ये अधिकांशको मृत्यु भइसकेको हुन सक्ने मिडियाजोनाको अनुमान छ। उसको खोजअनुसार बेपत्ता भनेर रिपोर्ट गरिएका सैनिकमध्ये जीवित भेटिनेको संखया करिब १० प्रतिशत मात्रै छ।
साइलेन्ट क्रोले सार्वजनिक गरेको तथ्यांकअनुसार युक्रेन युद्ध रूसमा मृत्युको चौथो प्रमुख कारण बनेको छ।
हृदयसम्बन्धी रोग, कोभिड र मस्तिष्कघात तथा रक्तनलीसम्बन्धी रोगपछि युद्धका कारण सबैभन्दा धेरै मानिसको मृत्यु भएको देखिएको छ।
युद्धमा मारिनेको संख्या रूसभर समान रूपमा वितरण भएको छैन। गरिब क्षेत्र र जातीय अल्पसङ्ख्यक समुदायको जनसंख्याको अनुपातमा मृत्यु दर निकै बढी रहेको तथ्यांकले देखाएको छ।
त्यस्तै, तथ्यांक प्राप्त गरेको अर्को अनुसन्धान संस्था नेस्ट सेन्टरले युक्रेन युद्धमा मारिएका विदेशी नागरिकको विवरण पनि विश्लेषण गरेको छ।
त्यस क्रममा विदेशी नागरिकका ६ हजार ९४७ मृत्यु अभिलेख भेटिएका छन्।
तीमध्ये अधिकांश कजाखस्तान, उज्बेकिस्तान, ताजिकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानका नागरिक छन्। यी सबै मध्यएसियाली देश हुन्।
रूसले जस्तै युक्रेनले पनि युद्धमा मारिएका सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।
रूसले जस्तै युक्रेनले पनि युद्धमा मारिएका सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।
तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा ठूलो मानवीय क्षति भएको स्वीकार गर्दै आएका छन्।
अमेरिकाको रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र (सिएसआइएस) ले गत जुलाईमा गरेको अध्ययनअनुसार युक्रेनले युद्धमा पाँच लाख २५ हजारदेखि ६ लाख २५ हजारसम्म सैनिकको क्षति बेहोरेको छ।
यसमा एक लाख २५ हजारदेखि एक लाख ५० हजारसम्म सैनिक मारिएको अनुमान छ।
कार्नेगी रूस युरेसिया सेन्टरका वरिष्ठ अध्येता अलेक्जेन्डर बाउनोभले रूस र युक्रेन दुवैतर्फ मारिएका सैनिकको कुल संख्या १० लाखभन्दा बढी हुन सक्ने बताएका छन्।







