वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भर्खरै स्कटल्याण्डमा सम्पन्न लिग २ क्रिकेटको शृंखला धेरै राम्रो भएको बताएका छन् ।
त्यस्तै नयाँ प्रशिक्षक आएपछि देखिएको परिवर्तनबारे प्रश्नमा उनले भने, ‘परिवर्तन छोटो समयमै पाउन त गाह्रै हुन्छ । त्यस्तो धेरै परिवर्तन भएको छैन । विस्तारै हुँदै जाने हो । सबैको मेहेनतको कारण सफल भएका छौं ।’
‘त्यस्तो कन्डिशनमा गएर खेलहरू जितेका छौं । लिग २ कै दुई उत्कृष्ट टिमहरूलाई हरायौं, आगामी सिरिजहरूका लागि पनि त्यसले मद्दत गर्छ’ उनले अगाडि थपे ।
केही खेलाडी चोटका कारण उपलब्ध नहुँदा ब्याकअपमा रहेका खेलाडीबाट पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो ।
नेपालले लिग २ शृंखलापछि त्रिदेशीय टी-२० शृंखला पनि खेलेको थियो जहाँ नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ऐतिहासिक ३ सुपर ओभर भएको थियो ।
त्यसबारे स्मरण गर्दै रोहितले त्यो हुन्छ भनेर कसैले नसोचेको बताए । ‘सोचेको थिएनौं ३ वटा सुपर ओभर हुन्छ भनेर । चेज गर्दा विकेट गएको भएर अलि दबाबमा आयौं तर त्यसपछि साझेदारी बन्यो अनि लास्टमा सुपर ओभरमा खेल गयो’ उनले भने, ‘सुपर ओभरमा त्यति सोच्ने समय हुँदैन । दुवै टिमबाट रन बनिरहेको थियो । तेस्रोमा चाहिँ सफल भइएन । त्यस्तो धेरै यही गर्नुपर्छ भनेर केही सोचेकै थिएनौं।’
त्यस्तै यसै शृंखलामा ओडिआई डेब्यू गरेका र पहिलो टी-२० खेललाई सुपर ओभरसम्म पुर्याएका नन्दन यादवले पनि कसैले सोच्दै नसोचेको कुरा भएर ३ वटा सुपर भएको उल्लेख गरे । ‘हामी आफैं आश्चर्यमा परेका थियौं ३ पटक सुपर ओभर हुँदा’ उनले भने ।
गत वर्ष वेस्ट इन्डिजको ए टोलीले नेपालमै आएर पाँच खेलको टी२० शृंखला खेलेको थियो । ‘हामीले खेलिसकेको ए टोलीभन्दा खासै फरक त नहोला, तर पनि २ पटक विश्वकप च्याम्पियन भएकाले क्वालिटी साइड हो, सिरिज राम्रो हुनेछ’ रोहितले भने ।
युके टुर र लिग २ का खेलहरूमा ब्याटिङमा पनि सुधारिएको प्रदर्शन भएको रोहितको भनाइ थियो । ‘ब्याटिङ हाम्रो राम्रो नै भएको हो । हामीले कुराहरू सहज बनाएर खेलिरहेका छौं । धेरै कम्प्लेक्स बनाएका छैनौं, सबैले आफ्नो भूमिका अनुसार खेलेका छन्’ उनले भने ।
प्रशिक्षक स्टुअर्ट लको शैलीबारे बोल्दै रोहितले ल धेरै सरल भएको उल्लेख गरे । ‘उहाँ एकदम स्ट्रेड फरवार्ड हुनुहुन्छ, मैदानमा प्राप्त भएका अवसरहरू सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, धेरै जटिल पनि बनाउनुहुन्न अवस्थालाई’ उनले भने ।







