भक्तपुरमा लाखौंको क्षति
मंगलबार रातीदेखिको वर्षापछि आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।
बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्च स्थानमा सार्नुपरेको प्रभावित स्थानीय बताउँछन्।
भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे। कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे। यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपु थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको प्रभावित स्थानीयको गुनासो छ।
रातभरको वर्षाले हनुमन्ते र वरपरका सहायक खोला उर्लिंदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन्, त्यहा लाखौंको क्षति भएको प्रभावित परिवारले बताएका छन्।
सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ।
सडकबाट भेल बगेपछि बाटाघाटा मात्रै बन्द भएका छैनन्, यहाँका विद्यालयसमेत बन्द भएका छन्। बालकोटको माइक्रोबस पार्क क्षेत्रको बस्ती डुबानमा परेको छ।
बालकोट क्षेत्रबाट राती १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५० बढीको उद्धार गरेको आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए। उनले रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको बताए।







