सन्दीपलाई थप एक साता हिरासतमा राख्न अनुमति लिँदै प्रहरी
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीपको अनुसन्धान नसकिएको बताएर प्रहरीले तेस्रो पटक थप हिरासमा राख्न अदालतसँग अनुमति लिने भएको हो।
काठमाडौं– प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने भएको छ।
प्रहरी वृत्त, गौशालाले अनुसन्धान नसकिएको भन्दै थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने भएको हो।
२० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक बिदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।
दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदै छ । ‘मंगलबार सरकारी बिदा परेको छ, त्यसैले बुधबार अदालत हाजिर गराउँछौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले भने ।
दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए । तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ ।







