आन्तरिक उडानका सबै सिट भरिभराउ
आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीलाई पत्राचार गर्दै ५ असोजदेखि नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।
तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याबारे केही उल्लेख छैन । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर उडान गर्न सक्नेछन् ।
यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए । तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो ।
मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनुपर्नेछ ।
२१ देखि ३० सेप्टेम्बर ९ दिनसम्म साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुनेछ । वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।
अक्टोबर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको मागअनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जनाएको छ ।
भाडा नबढ्ने
यात्रुले हवाई यात्रा गर्दा तत्काल भाडा नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा सञ्चालक संघका सदस्य प्रज्ज्वल थापाले जानकारी दिए ।
आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यस्तो फाराम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्नेछ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनुपर्नेछ ।







