असोजदेखि सार्वजनिक यातायात सञ्चालन हुँदै
यातायात व्यवसायीहरुले निषेधाज्ञा लागू भए पनि त्यसलाई उल्लंघन गरेर सार्वजनिक यातायात चलाउने चेतावनी दिएका छन् । यातायात व्यवसायीहरुले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीन वटा मजदुर संगठनबीच बुधबार भएको छलफलमा असोज १ गतेदेखि लामो÷छोटो दुवै दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि लकडाउन गरेर सार्वजनिक यातायात सञ्चालन निषेध गरेको थियो । ४ महिना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसपछि व्यवसायीले ४ महिनासम्म ग्यारेजमै थन्किएका सवारीसाधन सामान्य मर्मत गरेर सडकमा गुडाएका थिए । तर सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौँ उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरुले पनि बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द थिए ।
निषेधाज्ञा लगाएर सार्वजनिक यातायात बन्द गरेपछि रुष्ट भएका व्यवसायीले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको आरोप लगाएका छन् । अब पनि सरकारले निषेधाज्ञा जारी राखे आफैं सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको चेतावनी छ ।
सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने निर्णयसहितको माग गरी व्यवसायीहरु यातायात व्यवस्था विभागमा पुगेका थिए । उनीहरुले विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारसँग यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।
‘हामीले यातायात खोल्नुपर्ने माग राखेका छौं । सरकारले नखोले स्वःस्फूर्त रुपमा चलाउँछौं,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने ।
उनका अनुसार अब निषेधाज्ञा थपिए पनि त्यसलाई व्यवसायीले प्रतिकार गर्नेछन् । सरकारले बनाएको मापदण्डअनुसार सिट क्षमताभन्दा आधा यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गरिने उनको भनाइ छ ।
महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजार बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यस क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक रहेका छन् ।
व्यवसायीले निषेधाज्ञा लागू भए पनि त्यसलाई उल्लंघन गरेर सार्वजनिक यातायात चलाउने चेतावनी दिएकै साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जोर–बिजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
तर, व्यवसायीले जिल्लाभित्र मात्र नभई देशव्यापी रुपमै सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने दिनुपर्ने माग राखेका छन् । ‘सरकारबाट जोर–बिजोरमा यातायात चलाउन दिने भन्ने सुनियो’, महासंघ अध्यक्ष कर्माचार्यले भने, ‘जिल्लाभित्र मात्र यातायात चलाएर काम छैन । हामी १ गतेबाट लामो दूरीसहितका सबै सवारी चलाउँछौं ।’







