जग्गा कित्ताकाट खुल्यो
सरकारले ०७४ देखि रोकेको जग्गा कित्ताकाट खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट भू–उपयोग ऐन ०७६ र प्रचलित कानुनअनुसार गर्ने÷गराउन विगतमा जारी भएका सबै निर्णय खारेज गरिएको भूमि व्यवस्थापन मन्त्रालयले जानकारी दिएको छ ।
भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा, डाटा तयारी गरी स्थानीय तहलाई हस्तान्तरण गरिएपछि भू–उपयोग ऐन, ०७६ र प्रचलित कानुनको अधीनमा जग्गाको कित्ताकाट फुकाउन नापी विभागमार्फत मातहत कार्यालयहरुलाई निर्देशन दिइएको मन्त्रालयले बताएको छ ।
०७४ मा तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले देशभर कृषियोग्य भूमि खण्डीकरण हुन नदिन जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।
मन्त्रालयका प्रवक्ता जनकराज जोशी कित्ताकाट फुकुवा भएसँगै भू–उपयोग ऐनअनुसार जग्गाको वर्गीकरण गरिएको नक्सा तयार पारिएकाले त्यसमा उल्लेख भएअनुरुप मात्रै जग्गा उपयोग गर्न पाइने बताउँछन् । ‘जग्गा कित्ताकाट फुकुवा भए पनि भू–उपयोग ऐनको व्याख्या र प्रचलित अन्य कानुनको आधारमा मात्रै कित्ताकाट गर्न पाइनेछ । फुकुवा भन्नुको अर्थ सबै खाले जग्गा धमाधम कित्ताकाट गर्ने होइन’, जोशीले भने ।
मन्त्रालयले नयाँ भू–उपयोग नीतिसम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गरे पनि हालसम्म पारित भएको छैन । उक्त नियमावलीमा जग्गाको वर्गीकरण गरी प्रयोगबारेको प्रस्ताव तयार भइसके पनि पारित हुनुअघि नै मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले कित्ताकाट खुला गरेको छ ।







