दसैंसम्म निषेधाज्ञा गर्न सुझाव
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने दाबी गरे ।
अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालको भनाइ छ ।
दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई धेरै काम गर्नुपर्दा नभ्याएकाले सीमा नाकाको निगरानी कमजोर भएको स्पष्ट पारे ।
भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको खुलासा गरिन् ।
उनले भनिन्, ‘हामीलाई कस्तो दबाब आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बसेका जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाकाभन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ ।’
योजनाबद्ध रुपमा मानिसलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन् ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए । चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
‘अब चाडवाडहरू नजिक आइरहेका छन् । त्यसो हुँदा दसैंसम्म यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ,’ उनले भने ।
नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए । बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनको तर्क छ ।







