पाँच महिनापछि हिमाल आरोहण अनुमति
कोरोना संक्रमण सुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ ।
कोरोना महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरुन्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै पहिलो औपचारिक आरोहण अनुमति हो ।
टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आरोहण अनुमति प्रदान गरेका छन् ।
यसअघि सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको थियो । यद्यपि यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दाबा स्टेभन शेर्पाले गर्नेछन् ।
पर्यटन विभागका अनुसार अब हिमाल आरोहण गर्न जान चाहने नेपाली वा विदेशी नागरिकले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी आरोहणमा जान सक्नेछन् ।
त्यसका लागि विभाग नै सहजीकरण गर्नेछ । कोरोनापछि शून्यमा रहेको पर्यटनलाई माथि उकास्न पर्वतारोण र पदयात्राले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।







