संसद्मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले
प्रतिनिधिसभा बैठकको कार्यसूचीमा बिहीबार सम्बद्ध मन्त्रालयको बजेटमाथिका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिने विषय समावेश थियो । तर, उनी बैठकमा जाँदै गएनन् ।
प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरे । डा. वाग्लेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपरको प्रश्नको जवाफ दिए ।
राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिका प्रश्नको सामना गरे । रक्षा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेनले नै सम्हालिरहेका छन् । यस मन्त्रालयको बजेटउपरका प्रश्नको जवाफ पनि डा. वाग्लेले नै दिए ।
संसद् सचिवालयका अनुसार आफूसम्बद्ध जवाफ प्रधानमन्त्री बालेनले आफैँ दिन्छन् भन्नेमा संशय थियो । तर यसबारे औपचारिक जानकारी संसद् सचिवालयले ढिलो गरी मात्रै थाहा पायो । प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने अख्तियारी अर्थमन्त्री वाग्लेलाई दिएर पठाए ।
यो विषयमा नियमापत्ति पनि भयो । तर सभामुखले नियमापत्तिलाई मान्यता दिएनन् ।
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले नियमापत्ति गर्दै भने, ‘नियमावलीमा बजेटउपरको प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भनिएको छ । रक्षा मन्त्रालय, योजना आयोग, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालय र स्वयं प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्रीसँग छ ।’
यी कार्यालयको सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिने गरी अर्थमन्त्रीलाई अधिकार प्रत्यायोजन गरे पनि यो नियमसंगत नरहेको तर्क गरे । ‘तर यो अधिकार प्रत्यायोजन सधैँका लागि होइन होला ?’ बरालले प्रश्न गरे, ‘होइन भने नियमलाई ठीक ढंगले बुझिदिनुपर्यो । चलन ठीक ढंगले चलाइदिनुपर्यो । सुविधाको चलन चलाएर कसरी मिल्छ सभामुख महोदय ?’
तर, यस्तो तर्क मान्न सभामुख डोलप्रसाद अर्याल तयार भएनन् ।
सांसद बराललाई सभामुख अर्यालले जवाफ दिए, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र रक्षा मन्त्रालयसहितको पत्र प्राप्त भएको छ । मन्त्रीलाई जवाफ दिनलाई जिम्मेवारी दिएर पठाइसकेपछि अर्थमन्त्रीले जवाफ दिने हाम्रो प्रचलनमै छ ।’
यत्ति भनेर सभामुखले अर्थमन्त्री वाग्लेलाई जवाफमा अगाडि बढ्न आग्रह गरे । त्यसपछि अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिए ।







