राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
कठमाडौं– नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्९इकोसक०को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।
राष्ट्रसंघका प्रमुख ६ अंगमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए।
शान्ति स्थापना कार्यलगायत राष्ट्रसंघमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको उनको भनाइ छ। ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ।
परिषद्मा नेपालसँगै पोल्यान्ड र कोस्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन्। पूर्वी युरोपेली देशबाट पोल्यान्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकबाट कोस्टारिका चुनिएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ। परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ। केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिनेछ।
यसैबीच राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अघिल्लो वर्षको जुनमा एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४–२०२६ का लागि नेपाल परिषद् सदस्य निर्वाचित भएको थियो। सामाजिक–आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्ट्रसंघको बडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो।