एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो।
नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।
राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्। चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्। यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ मा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्।
लोकतन्त्र प्राप्तिको संघर्षमा लागेका उनले लामो समय निरंकुुश पञ्चायती शासन व्यवस्थामा काराबास भोगेका थिए।







