बाढीपहिरोले ४१ पुल बगायो, ७८ जनाको मृत्यु
काठमाडौं– निरन्तरको झरीका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद् घटनामा परेर हालसम्म १० करोड बढीको क्षति भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ देखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ।
जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र ५ जना बेपत्ता भएका छन्। बाढीपहिराका कारण ३८१ पशु चौपाय मरेका छन् भने ९८ गोठमा क्षति भएको छ। यस्तै, ५९५ घर विस्थापित भएका छन्। विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ जना प्रहरी परिचालन गरिएको छ।
बाढीपहिरोले १ विद्यालय र २ सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ। यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले बताएको छ।