बागमती प्रदेशको बजेट बहुमतले पारित
काठमाडौं–बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत बजेट पारित भएको छ। प्रदेशसभा बैठकले बिहीबार राती अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक, २०८१ बहुमतले पारित गरेको हो। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
उनले चालूतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका थिए।
बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिए पनि प्रतिपक्षी कांग्रेस र राप्रपाले बजेट असन्तुलित रहेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए। सरकार र विपक्षी दलबीच सांसदका योजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाको अवरोध हटेको थियो।