असार मसान्तभित्र बिमा नवीकरण गर्न बोर्डको आग्रह
काठमाडौं– स्वास्थ्य बिमा बोर्डले सेवा निरन्तरताका लागि २०८१ असार मसान्तसम्म बिमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ। बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बिमामा २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ देखि सेवा सुरु गरेका बीमितले सेवा निरन्तरताका लागि तोकिएको अवधिभित्र नवीकरण गर्नुपर्ने बताएको हो।
नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ। २०८१ साउन १ देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मंसिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ। बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार सोमबारसम्म बीमितको संख्या ८० लाख ७९ हजार ७८२ पुगेको छ। हालसम्म ५० लाख ३८ हजार ८४० जनाले नवीकरण गराएका छ सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने सूचना अधिकारी कँडेलले बताइन्। उनले भनिन्, ‘नवीकरण आवश्यक छ। नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बिमा गराउन सक्छन्। प्रत्येक वडामा दर्ता सहयोगी छन्।’







