९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स
काठमाडौं–चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९।८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको जनाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४।२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३।९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो।