लगातार ५ कारोबार दिन घट्यो, सबै उपसमूह राताम्य
काठमाडौं– सेयर बजारमा लगातार पाँच कारोबार दिन गिरावट आएको छ। साताको कारोबार अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० १९।५६ अंकले घटेर १९७२।१४ बिन्दुमा बन्द भएसँगै नेप्से निरन्तर घटेको पाँच कारोबार दिन पुगेको हो। गत चैत २७ मा अघिल्लो दिनको तुलनामा ९।१९ अंकले बढेको नेप्से त्यसयता निरन्तर घटिरहेको छ। चैत २८ मा नेप्से १०।३० अंकले, वैशाख २ मा २।३५ अंकले, वैशाख ३ मा १६।८२ अंकले र वैशाख ४ मा नेप्से १४।८१ अंकले घटेको थियो। पछिल्लो पाँच कारोबार दिनबाट नेप्सेमा ६३।८४ अंकको गिरावट आएको छ।
बिहीबारसम्म नेप्से दुई महिनायताकै न्यून बिन्दुमा झरेको छ। यसअघि फागुन २० मा नेप्से १९६०।३० को बिन्दुमा बन्द भएको थियो। त्यसबाट उकालो लागेर फागुन २९ मा मंगलबार नेप्से २१११।२१ बिन्दुमा पुगेर घट्न थालेको नेप्से बिहीबारसम्म १९७२।१४ बिन्दुमा सीमित भएको हो।
बिहीबार कारोबारको सुरुआती चरणबाटै घट्न थालेको बजारमा कारोबार पनि खासै हुन सकेन। आज कुल २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा कुल २ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, सोमबार कुल २ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ। आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सर्वाधिक अर्थात् ७।९४ प्रतिशतको वृद्धि भएको छ। यस्तै, पोखरा फाइनान्सको सेयर मूल्यमा ६।२१ प्रतिशतको वृद्धि भएको छ। बिहीबार रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९।९९ प्रतिशतले घट्दा गोर्खाज फाइनान्सको सेयर मूल्य ९।३९ प्रतिशतले घटेको छ। बिहीबार नेप्सेका १३ वटै उपसमूह राताम्य भएका छन्। लघुवित्त उपसमूहमा सर्वाधिक १।७२ प्रतिशतको गिरावट हुँदा म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ उपसमूहमा १।५४ प्रतिशतको गिरावट आएको छ।







