अबदेखि रेसुंगा विमानस्थलबाट सातामा तीन उडान
काठमाडौं– गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएका छन्। यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान भर्दै आएकामा अब सोमबार पनि उडान थपेको रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए। रेसुंगा नगरपालिका प्रमुख खिल्धवज पन्थीले यात्रु चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए। ‘यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो। आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ’, उनले भने।
नेपाल एयरलाइन्सको १८ सिटे जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौं–रेसुंगा–काठमाडौं उडान गर्दै आएको छ। काठमाडौं–रेसुंगाका लागि ७ हजार २८० र रेसुंगा–काठमाडौं रुटका ७ हजार ८० भाडादर निर्धारण गरिएको छ। रेसुंगा विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलोमिटर दूरीमा पर्छ।







