महानगरको विपन्न उपचार अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
काठमाडौं– काठमाडौं महानगरले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् ।महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचारअनुसार ४१ अस्पताल आबद्ध भएका हुन् । आबद्ध ४१ अस्पतालमा कुल तीन हजार दुई सय ३९ शय्या छन् । यसको १० प्रतिशत अर्थात् तीन सय २३ वटा शय्या लक्षित वर्गका लागि रहेको महानगर स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
स्वस्थ भएर बाँच्न पाउने तथा रोग लागे उपचार सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएको महानगरको भनाइ छ । आर्थिक रुपमा विपन्न र कोही नभएका व्यक्ति यस सेवाको लक्षित समूह हुन्। लक्षित वर्गको सहजताकै लागि सबै अस्पताललाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ’, महर्जनले भनिन्। लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा महानगर े प्रमुख बालेन्द्र साहकोे संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ।
समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधि सदस्य रहेका छन्। उपचार प्रक्रियामा बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्ट्रार, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन्। सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम उपलब्ध हुनेछ।
कसरी लिने निःशुल्क सेवा रु
गरिब परिचयपत्र भएका बिरामीले सोझै अस्पताल गई उपचार सेवा लिन सक्नेछन्। यदि गरिबी परिचयपत्र छैन भने बिरामीले कार्यविधिको अनुसूची–२ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची–५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्छ।
वडा कार्यालयबाट दिइने अनुसूची–४ बमोजिमको सर्जमिन र अनुसूची–३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्नेछ।
त्यस्तै, बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने, बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने तथा अन्योल भएमा सम्बन्धित वडाको सिफारिसपत्र लिई महानगरको स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण इकाइ वा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सीधै सम्पर्क गर्न सकिनेछ ।







