नेपाल बंगलादेशसँग पराजित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले हार बेहोरेको छ । शुक्रबार राजधानी ढाकामा भएको खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २–० गोलले पराजित गरेको हो ।
नेपालले दुवै हाफमा १–१ गोल खाएको थियो । खेलको दसौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पारेको थियो । वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए ।
नेपालका लागि पहिलो हाफमा रवि पासवान र अन्जन विष्टले गोल गर्ने अवसर खेर फालेका थिए । खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले २ मंसिरमा दोस्रो खेल खेल्नेछ ।
यसअघि नेपाल बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा तीन खेलमा विजयी भएको थियो । एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ ।
नेपाली राष्ट्रिय टिम झन्डै एक वर्षपछि मैदान उत्रिएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदै छ ।
फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन सकेका छैनन् ।







