बंगलादेश गयो नेपाली फुटबल टोली
नेपाली फुटबल टोली गोलकिपर किरण चेम्जोङको कप्तानीमा फुटबल खेल्न बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली खेलाडीले कोरोना महामारीपछि पहिलोपटक बंगलादेशमा फुटबल खेल्नेछन् । मैत्रीपूर्ण खेलका लागि गएको नेपाली टोलीले बंगलादेशको एक साता बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ ।
लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्सािहत देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् ।
यस्तै, अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरू आइसोलेसनमा छन् । नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् ।
मैत्रीपूर्ण खेलकाका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र बंगलादेश बसाइ थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।
नेपालले २८ कात्तिक र २ मंसिरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर, महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेलका निकै चुनौती पूर्ण भएको प्रतिक्रिया उनले दिए ।
यस्तै, टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । साथै, बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई अनुभव दिने उनको भनाइ छ ।
नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलकामा सुखद नतिजा निक्लिने विश्वास खवासको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परिक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेलका खेल्ने तालिका रहेको छ ।







