कांग्रेसमा बल्झिँदै कलह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन नजिकिँदै जाँदा एकलौटी ढंगले विभाग, शुभेच्छुक संस्थालगायतमा मनोनयन गरेपछि असन्तुष्ट पक्षले अनशन बस्नेसम्मको चेतावनी दिएको छ ।
देउवा कार्यशैलीमा असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गुरु घिमिरेलगायतले शनिबार दिउँसो आफू पक्षका नेतासँग जुम मिटिङ गरेर विरोधको स्वर बाहिर ल्याएका हुन् ।
पार्टी विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग तथा शुभेच्छुक संघसंस्थामा मनोनयन गरिसक्नुपर्ने भए पनि देउवाले दिनहुँ निरन्तरता दिएका छन् । देउवाले नियमित चार वर्षे कार्यकाल सकिएपछि धमाधम विभागलगायतमा मनोनयन गरिरहेका छन् ।
फागुनमा तय भएको १४ औं महाधिवेशन आफू पक्षमा पार्न सभापति देउवाले अहिले १ हजारभन्दा बढीलाई विभिन्न पद बाँडेको आरोप देउवाइतर समूहका केन्द्रीय सदस्यहरूको छ ।
‘हामीले पटक–पटक अहिले विभागहरू गठन नगर्नुस् भने पनि सभापतिले सुन्नुभएन,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भन्छन्, ‘सभापतिले पार्टीभित्र सल्लाह नगरी एकलौटी रूपमा गठन गरेका विभागलगायत मनोनयन खारेज गर्नुपर्छ ।’
सभापतिले मनोनयन नरोकेका बेला अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक राखेको पनि उनले जानकारी दिए ।
‘साथीहरूले सभापतिका कार्यशैलीविरूद्ध अनशन, सत्याग्रह पनि गर्नुपर्छ भन्नुभएको छ । अब के गर्ने भन्ने निर्णयमा छिट्टै पुग्छौं । सभापतिले हाम्रा कुरा नसुनेकाले अनशन बस्नेसम्म पुग्ने स्थिति आएको हो,’ केसीले भने ।
यसअघि वरिष्ठ नेता पौडेलकै नेतृत्वमा पत्र दिएर ध्यानाकर्षण गरे पनि सभापतिले निर्णय नसच्याएकाले थप दबाब दिनु परेको उनको भनाइ छ ।
महाधिवेशन फागुनमै गर्न तयारी गर्नेतिर सभापति नलागेको पनि असन्तुष्ट समूहको आरोप छ । क्रियाशील सदस्यताका फारम जिल्लाहरूमा मनलाग्दी तवरले दिइएको र कतिपय जिल्लामा अझै समायोजनका काम नसकिएको केसीले बताए ।
‘सभापतिकै गृहजिल्ला डडेलधुरामा समायोजनका काम सकिए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भएका छैनन्,’ उनले भने ।
सभापति देउवाले भने पौडेललाई यसअघि नै आफ्ना तर्फबाट विभागमा रहनेहरूको नाम दिन भने पनि नदिएपछि मनोनयन गर्नु परेको बताउँदै आएका छन् ।
सभापति देउवाले ४० प्रतिशत विभाग खालि राखेर अरूमा मनोनयन गर्ने रणनीतिअनुसार मनोनयनलाई तीव्रता दिइरहेका छन् । देउवाले दुई दिनअगाडि शुभेच्छुक संस्था र प्रचार विभाग विस्तार गरेका थिए ।







