नेपालमै सुरु भयो मोटरसाइकल उत्पादन
व्यापारिक घराना शंकर ग्रुपले १ अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधनको एसेम्बल प्लान्ट सुरु गरेको छ ।
विगतमा सोही ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकामा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो ।
कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरु भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए ।
अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारी साधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ ।
‘हामी ट्रायल पिरियडमै छौं । अहिले अपाचे १६० एसेम्बल भइरहेको छ। पहिलो लटमा यो मोडलका ३ सय मोटरसाइकल एसेम्बल गर्छौं र विस्तारै सबै रेन्जका सवारी साधन उत्पादन गर्दै जान्छौं,’ उनले भने ।
यो प्लान्टबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्न सक्ने क्षमता रहेको अग्रवालले बताए ।
प्लान्टमा हाल १ सय जना दक्ष जनशक्तिले रोजगारी पाइरहेका छन् भने प्लान्टको क्षमताअनुसार उत्पादन गर्न सके अरू धेरैले रोजगारी पाउनेछन् ।
नेपालमै उत्पादन गरिए पनि सरकारले एसेम्बल प्लान्टलाई सुविधा नदिएका कारण ग्राहकले तत्काल सहुलियत भने पाउने छैनन् ।
हाल सबै पार्ट्स बाहिरबाट ल्याउने भए पनि एसेम्बल प्लान्ट खुलिसकेपछि विभिन्न पार्ट्स उत्पादनका लागि बाटो खुल्ने अग्रवालको भनाइ छ ।







