सामाजिक परिचालकको माग पूरा
काठमाडौँ, चैत १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन महिनादेखि सडक आन्दोलनमा रहेका सामाजिक परिचालकको माग पूरा गरेको छ । मन्त्रालयले आगामी असार मसान्तसम्मका लागि करार सेवा अवधि मन्त्रीस्तरीय निर्णयबाट थप गरेसँगै सामाजिक परिचालकको माग पूरा भएको हो ।
माग पूरा भएपछि मङ्गलबारदेखि नै सामाजिक परिचालकको आन्दोलनसमेत समाप्त भएको छ । स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायक तथा सामाजिक परिचालकका रूपमा कार्य गर्ने गरी असार मसान्तसम्मका लागि मन्त्रालयले करार सेवा अवधि थप गरेको छ ।
स्थानीय तहमा रहेर उत्कृष्ट कार्य सम्पादन गरेका साबिक सेवा सुविधा प्राप्त गर्दै आएकालाई निरन्तता दिई सेवा अवधि थप गर्ने मन्त्रालयले जनाएको छ । करार सेवामा काम गर्न नआउने सामाजिक परिचालकको स्थानमा भने नयाँ कर्मचारी राख्नसमेत मन्त्रालले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
आगामी आर्थिक वर्षदेखि भने सामाजिक परिचालकका लागि आवश्यक आर्थिक दायित्व सङ्घीय सरकारसँग नरहने र स्थानीय तह आफैँले आर्थिक व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । नेपाल सामाजिक परिचालक सङ्घका सचिव विनोद ढुङ्गानाले सरकारले आफूहरूको माग पूरा गरेसँगै आन्दोलन अन्त्य भएको बताउनुभयो ।
सामाजिक परिचालकहरूले स्थानीय तहका सर्वसाधारण नागरिकबीच पुलको काम गर्दै आएका थिए । त्यस्तै स्थानीय तहको विकासनिर्माणको काममा सहभागी हुने, सरकारको नीति, कार्यक्रम र योजनाअनुसार स्थानीय तहमा परिचालित हुने, सरकारको राष्ट्रिय खोप अभियान, खुला दिसामुक्त, स्थानीय बालमैत्री शासन निर्माणलगायतका सरकारका महìवपूर्ण कार्यक्रममा सामाजिक परिचालकको महìवपूर्ण भूमिका रहँदै आएको सङ्घले जनाएको छ । गोरखापत्र







