नेपालको निर्वाचन परिणामलाई लिएर भारतमा वहस चर्कदो , भारतीय सञ्चारमाध्यमहरुको यस्तो रोइलो
अंगराज न्यौपाने
काठमाण्डौ । नेपालको हरेक परिवर्तनमा आफ्नो प्रभाव जमाउने दक्षिणी छिमेकी भारतको नीतिमा यसपटक ढुंगा लागे झैं भएको छ । यसलाई भारतीय सञ्चारमाध्यामहरुमा प्रस्तुत विचार र दृष्टिकोणले अझ थप पुष्टि गरेको छ । नेपाल मामलाका भारतीय विचारकहरुका आ–आफ्ना दृष्टिकोण एकातिर छ भने अब नेपाल भारतको पकड बाहिर गएको कतिपय सञ्चारमाध्यमहरुले रोइलो नै गरेका छन् ।

नेपालमा प्रजातन्त्र स्थापना भएदेखि नै आफ्नो प्रभाव कायम राख्न तल्लिन भारतलाई राष्ट्रवादको नाममा यसपटकको निर्वाचन परिणामले गतिलो झापड दिएको छ । नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यहाँ कसैको दादागिरी चल्दैन भन्ने जनमत स्पष्ट देखिएको छ । तर, यसले छिमेक नीतिमा प्रभाव पार्छ भन्नु आफैंमा गलत राष्ट्रवाद हुन सक्छ । यति मात्र हो, नेपालको सार्वभौम अधिकार कहि कतैबाट कुण्ठित हुनु हुँदैन । चाहे त्यो हिमाल होस् वा तराई नै किन नहोस्, मुलुकको सार्वभौमिकतामा कुन नेपालीको मन एक नहोला ? छिमेकीले यो बुझ्नै पर्छ । संविधानसभाको ९१ प्रतिशतबाट पारित संविधानमा आफ्नो हस्तक्षेप लागु गर्न खोज्ने भारतीय प्रवृत्तिलाई ‘क्यास’ गरेको बाम गठबन्धन अझ एमाले नेतृत्वको बहुमतले धेरै अन्र्तनिहित विषयलाई खुल्ला बहसमा ल्याएको छ ।
आफ्नो छिमेक नीतिमा परिवर्तन गर्दै राजनीतिक संस्कार विकास गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनालाई भारतीय ‘व्यूरोक्रेसी’ असफल बनाएपछि मोदीप्रतिकै दृष्टिकोणमा तितो पना देखिएको प्रष्ट छ । त्यसैले पनि नेपाल मामिलाका भारतीय जानकारहरुले पछिल्लो आम निर्वाचनको परिणामलाई नव राष्ट्रबादको विजयको संज्ञा दिएका छन् । नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनिले कसैको साथ–सहयोगभन्दा पनि ‘सत्तासीन देउवा सरकारको कमजोर कार्यशैलीका माझ नवराष्ट्रवादको लहरले नेपालमा नसोचेको नतिजा आाएको’ बताए । अर्का विज्ञ एवं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य महेन्द्र पी लामाले वामपन्थी गठबन्धनको बहुमतले नेपालमा विकास र राजनीतिक स्थायित्व आउने अपेक्षा गरेका छन् ।
यो नेपाली पृष्ठभूमिमा मात्र लागु भएको होइन । उनीहरुकै शव्दमा भन्ने हो भने पनि अमेरिकामा ट्रम्प नेतृत्व आउनुमा उनको नव राष्ट्रवाद अनि भारतमै मोदी लहर देखिनुमा पनि नव राष्ट्रवादको प्रभाव देखिन्छ । यसलाई अब बदलिंदो विश्वका चाहना प्रकटका रुपमा भारतले लिंदै नेपाल नीतिमा फेरबदल ल्याउन जरुरी छ न कि नेपाललाई दुःख दिंदै तल्लो हर्कत गर्नु । भारतीय सञ्चारमाध्यामहरुले भने झैं नेपालमा चिनियाँ प्रभाव होइन, यसले भारतप्रतिको वितृष्णालाई अझ बलियो बनाइदिएको छ । बदलिंदो विश्व परिवेशलाई ध्यान नदिई पुरातन शैलीमै भारत नेपाल नीतिमा कायम रहे त्यो नेपाललाई मात्र होइन भारत स्वंयम्लाई घाटा हुनेतर्फ उसले विश्लेषण गर्न जरुरी छ ।
source : news24








