मेलम्ची, ३ माघ । मेलम्चीको शिखरपुरका किसान तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
सिँचाइको पर्याप्त सुविधा तथा आयआर्जनकोे बलियो माध्यम बनेपछि शिखरपुरमा व्यावसायिक रुपमा तरकारीखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
तरकारीखेतीलाई व्यावसायिकरण गर्नका लागि विद्युतीय उपकरण प्रयोग गरेर सिँचाइ नहुने सयौं रोपनी जग्गामा समेत किसानले तरकारीखेती गर्न थालेका छन् । मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश जान छोडेर तरकारीखेती गर्न थालेका मेलम्ची नगरपालिका– १२ का भीमप्रसाद दुलाल बताउनुहुन्छ ।
परिवार र छिमेकीसँग रहेर उहाँ मासिक लाखाँै आम्दानी गर्न सफल हुनुभएको छ । बीउ उमार्नेदेखि उत्पादनसम्म गर्दैआउनुभएका दुलाल तरकारीखेतीबाट सन्तुष्ट हुनुहुन्छ ।
खेती किसानीबाट पर्याप्त आम्दानी गर्न सकेकामा शिखरपुरका किसान सन्तुष्ट छन् । खेती किसानीबाटै देशको विकास हुने उनीहरु बताउँछन् । गोलभँेडा, काउली, मुला, गाँजर, सागदेखि केरा, सुन्तला, च्याउ, आलु बन्दागोभी, खुर्सानीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दैआएका छन् ।
तरकारी खेतीबाट मासिक रु चार लाखसम्म आम्दानी हुने गरेको तुलाराम दाहाल बताउनुहुन्छ । “यहाँको प्रमुख आयस्रोत भनेकै तरकारीखेती हो,” उहाँले भन्नुभयो ।
शिखरपुरका एक सयभन्दा बढी घरपरिवार तरकारी खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । सागाचोक, कालिका, ठोकर्पालगायत ठाउँका किसान तरकारीखेतीबाट यथेष्ट आम्दानी गर्न थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले तरकारीखेती गर्न तथा किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गर्दैआएको छ । यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लाका किसानले जीविकोपार्जनका लागि तरकारीखेती गर्दैआएका छन् । रासस