रत्ननगर (चितवन), २० माघ । चितवनको दोस्रो नगरपालिका रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु भएको छ ।
नगरपालिका बनेको दुई दशकपछि यहाँ सुविधायुक्त सभाहल निर्माण सुरु भएको हो । विसं २०५३ मा स्थापना भएको रत्ननगर नगरपालिका भरतपुरपछि बनेको पहिलो नगरपालिका हो । हाल चितवनमा सात नगरपालिका र एक उपमहानगरपालिका छन् ।
पिएस एण्ड बिरुवा जेभीले पूर्वपश्चिम राजमार्गको रत्ननगर सौराहा जाने बाटो नजिकै भक्तिनी बगैँचामा सभाहल निर्माणको काम थालेको हो ।
नगरपालिकाको मापदण्डमा पनि सभाहल भएको क्षेत्रलाई ठूलो मान्यता दिइन्छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवन मातहतबाट साढे दुई वर्षमा निर्माण सक्ने गरी सभाहल निर्माण सुरु भएको कार्यालयका इन्जिनियर अनन्तकुमार देवले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जग खनेर पिल्लर उठाउने काम सुरु भएको र निर्माणमा तदारुकता दिइएको छ ।
रु २० करोडको लागत भएपछि रु १६ करोडको ठेक्का परेर सभाहल निर्माण सुरु गरेको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।
अहिले २२ कट्टा जग्गामा ७०० मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको छ ।
सभाहलसँगै यहाँ कभर्डहल र बालउद्यानसमेत बनाइने नगरपालिकाका कार्यकारी अधिकृत गैरेको भनाइ छ ।
अहिले सौराहामा बन्न लागेको सभाहल र यो सभाहलको विषयमा विवाद हुँदै आएको छ । रत्ननगरको सभाहलको नाम पनि ‘सौराहा सभाहल’ नै भएर निर्माण सुरु भएकाले सौरेलीहरुले आफ्नो सभाहल रत्ननगरले लगेको भनेर आरोप लगाउँदै आएका छन् ।
तर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले भने नाम कम्प्युटर प्रिन्टका बेला गल्ती भए पनि यो रत्ननगर सभाहल नै भएको दाबी गर्नुभयो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनका इन्जिनियर अनन्तकुमार देवले अहिले पनि नाम ‘सौराहा सभाहल’ नै भए पनि यो पूर्व स्वीकृत कार्यक्रमअनुसारकै सभाहल भएको बताउनुभयो ।
सौराहामै बन्ने भनेको सभाहलको विषयमा कुनै परीक्षणसमेत नभएको उहाँले बताउनुभयो । नामको विषयमा मन्त्रालयमा छलफल भइरहेको उहाँको भनाइ छ । सौराहामा पनि अर्काे छुट्टै सभाहल बन्ने सहरी विकास मन्त्रालयले आश्वासन दिएको छ । रासस