‘भ्रष्टाचारविरोधी सरकार बनोस्’
मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ । ‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी वक्तव्यमा भनिएको छ, ‘सरकारी निर्णय प्रक्रियामा पारदर्शिता वृद्धि गर्ने, भ्रष्ट अधिकारीहरूमाथि मुद्दा चलाउने, अन्तर्राष्ट्रिय ‘खुला सरकार’ साझेदारीमा सहभागी हुने, मजबुत प्रेस र छरितो अनुसन्धानमूलक पत्रकारितालाई सहयोग गर्नेछौं ।’ अमेरिकाले आफूले प्रदान गर्ने वार्षिक १२ करोड डलरभन्दा बढीको विकास सहयोग पनि सबल सरकारी निकायहरू, समावेशी समुदायहरू, उत्तरदायी सामाजिक सेवाहरू र जीवन्त अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले सञ्चालित रहेको पनि स्मरण गराएको छ । ‘यो कुनै परोपकारी काम होइन बरु एउटा साझेदारीमा हामीले गरेको लगानी हो, जसको सफलताको हामी परिकल्पना गर्न सक्छौं,’ अमेरिकाले नेपालका सम्भावनाहरूमा विश्वास गर्दै सहयोग प्रदान गरिरहेको बताउँदै भनेको छ, ‘सही अर्थको राजनीतिक रूपान्तरण र दण्डहीनता तथा भ्रष्टाचारको संस्कृतिको अन्त्यका लागि नेपाली जनताले आह्वान गरिरहेको यस शुभ समयमा अमेरिका साथमा रहनेछ ।’








