गाविस कार्यालयको छाप र कागजपत्र स्थानीय विकास अधिकारीसँग
सिन्धुली, १९ माघ । सिन्धुलीका ५० वटै गाउँ विकास समितिको कार्यालयको छाप तथा अन्य सामग्री स्थानीय विकास अधिकारीको साथमा छ ।
गाविसका सचिवले आजबाट कुनै पनि काम नगर्ने घोषणा गर्दै कार्यालयको छाप तथा अन्य सामग्री स्थानीय विकास अधिकारीकलाई बुझाएका हुन् ।
वि.सं.२०७३ वैशाख ७ मा गाविस सचिवको लागि कार्य सम्पादनको आधारमा भत्ता स्वीकृत गरेकामा अहिले अर्थ मन्त्रालयले सहमति नदिएको बहानामा रोक्का गरिएकाले आन्दोलनमा उत्रनु परेको गाविस सचिव हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रोहित कार्कीले बताउनुभयो ।
जिल्लाभरका गाविस सचिवको उपस्थितिमा स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईको कार्यकक्षमा पुगी आजबाट आफ्ना जायज माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण कामकाज रोकिएको जानकारीसहित कार्यालयको छाप र कागजपत्र बुझाएका हुन् ।
उनीहरुले स्थानीय चुनाव तत्काल गराउनुपर्ने, सचिवले कार्यसम्पादन सूचकमा आधारित भत्ता तुरुन्त दिइनुपर्ने, सरकारी सेवालाई सङ्घीय सेवा र प्रदेश सेवा गरी दुई तहमा हुनुपर्ने, प्रदेश सेवामा खटाउँदा एक श्रेणी बढुवा गरी समायोजन गर्नुपर्ने, शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई तह वृद्धिसहितको अवकास योजना ल्याउनुपर्ने, स्थानीय तहमा खटी कामकाज गर्नुपर्दा १०० प्रतिशत प्रोत्साहन दिनुपर्ने जस्ता माग स्थानीय विकास अधिकारीलाई बुझाएका छन् ।







