आकास्मिक कोष विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, १४ माघ । व्यवस्थापिका–संसद्ले सङ्घीय आकस्मिक कोष विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस अघि बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथि सांसदले राख्नुभएको जिज्ञासामा अर्थमन्त्री महराले विधेयकमाथि नसमेटिएका कतिपय विषय बस्तु नियम मार्फत सम्बोधन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो– “सिद्धान्ततः सबै राजनीतिक दलले विधेयकको आवश्यकतालाई स्वीकार गर्नुभएको छ, प्रारम्भमा २५ लाखबाट सुरु गर्ने भनिएको आकस्मिक कोषको प्रारम्भिक पुँजी रु एक करोड राख्न विधेयकमा प्रस्ताव गरिएको छ ।
उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सांसद गङ्गालाल तुलाधर, रेवतीरमण भण्डारी र प्रेम सुवालले भाग लिनुभएको थियो । भूकम्प, बाढीपहिरो, आगलागीलगायत प्राकृतिक प्रकोपको समयमा तत्काल खर्च गर्ने गरी स्थापना गर्न लागिएको सङ्घीय आकास्मिक कोषमा कम्तीमा पनि रु. एक अर्ब रकमको जोहो हुनुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिनुभयो । रासस







