दमौली, १ माघ ।। उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको आज उद्घाटन गर्दै उहाँले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति पुनले २०७४ माघ ७ गतेभित्रै तीन वटै तहको निर्वाचन गर्न दलहरु अघि बढनुपर्ने बताउँदै ‘जनआन्दोलन होेस् वा जनयुद्ध होस्’ हरेक आन्दोलनमा मगर समुदायले पु¥याएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसकिने भन्नुभयो ।
नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता हो भन्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताउनुभयो ।
नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष सिद्धान्त थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
यसैगरी उपराष्ट्रपति पुनले आजै महर्षि बेद व्यासको जन्मस्थलमा पुगी व्यास गुफाको समेत अवलोकन गर्नुभयो । रासस