सांसदबाट टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण : इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सांसदबाट टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इप्पानले सांसदबाट टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताएको हो । पत्रकार सम्मेलनमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेटमै टेक एन्ड पे पीपीए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तीय जोखिम मूल्याङ्कनको आधारमा ऊर्जा खपत र निर्यात हुने यकिन भएका नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरूको पीपीए गर्न सकिने उल्लेख गरिनु राम्रो पक्ष भएको बताउनु भयो ।
इप्पानले गरेको भद्र र शान्तिपूर्ण आन्दोलनबाटै टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनुलाई महत्त्वपूर्ण रूपमा लिएको बताउनु भयो । टेक एन्ड पे पीपीएको प्रावधान हटेपछि नियमित रहेको र घोषणापछि बन्द भएको १० मेगावाट सम्मको पीपीएले निरन्तरता पाउने, प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार थप पीपीए हुने तथा मन्त्री परिषदबाट पारित ऊर्जा विकास मार्गचित्र, २०८१ को आधारमा पीपीए खुला भई निजी क्षेत्रले ढुक्कका साथ लगानी गर्ने वातावरण निर्माण हुने अपेक्षा आफूहरूले गरेको बताउनु भयो ।
संसद्मा स्पष्ट रूपमा सम्माननीय प्रधानमन्त्रीले टेक एन्ड पे पीपीए हटाइएको र माननीय अर्थमन्त्रीले संशोधनको प्रस्तावसहित निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अभिव्यक्ति दिनुभएको छ । संसद्मा बहुमत रहने सरकारले ल्याएको बजेट विशेष अवस्थामा पनि परिवर्तन नहुने विगतको परम्परा रहेकोमा सबैको साथसहित इप्पानले गरेको भद्र र शान्तिपूर्ण आन्दोलनबाटै टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनुलाई हामीले एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छौँ ।
टेक एन्ड पे पीपीएको प्रावधान हटेपछि नियमित रहेको र घोषणापछि बन्द भएको १० मेगावाट सम्मको पीपीएले निरन्तरता पाउने, प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार थप पीपीए हुने तथा मन्त्री परिषदबाट पारित ऊर्जा विकास मार्गचित्र, २०८१ को आधारमा पीपीए खुला भई निजी क्षेत्रले ढुक्कका साथ लगानी गर्ने वातावरण निर्माण हुने अपेक्षा हामीले गरेका छौँ ।
सरकारको १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने तथा १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई सफल बनाउने दायित्व निजी क्षेत्रको पनि भएकोले यसका लागि हामी तयार रहेको तथा सरकारका विभिन्न मन्त्रालय र निकायका साथै विद्युत् प्राधिकरण लगायतबाट समेत यो लक्ष्य हासिल गर्नका लागि लगानीको उचित वातावरण निर्माण गरी सबै किसिमको सहजीकरण हुने अपेक्षा हामीले गरेका छौँ ।’
पत्रकार सम्मेलनमा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले उत्पादन गरेका बिजुली अहिले पनि ट्रान्समिट हुन नसकेको बताउनु भयो । ट्रान्समिसन लाइन बनाउन निजी क्षेत्रलाई दिनुपर्ने बताउनु भयो ।







