मधेसका जायज माग पूरा गर्न माग
धनुषा, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राजनीतिक दलसँग समझदारी कायम गरी मुलुकलाई सङ्कटबाट पार लगाउनुपर्ने बताउनुभएको छ ।
राप्रपा धनुषाको आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक दलसँग समझदारी कायम नगरी सरकार आफ्नै गतिमा अगाडि बढेमा देश मुठभेडतर्फ जानसक्ने सम्भावना रहेको चेतावनी दिनुभयो ।
उहाँले संविधानसभाबाट संविधान निर्माणकै बेलादेखि मधेसकेन्द्रित दललगायतको जायज माग तत्काल पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले भन्नुभयो, “हाम्रो पार्टी सरकारमा रहे तापनि हामीसँग कुनै पनि किसिमको सरसल्लाह नै गरी ल्याइएको संविधान संशोधन विधेयकप्रति हाम्रो नैतिक विमति छ ।’’ उहाँले नेपालमा ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएकाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग पनि गर्नुभयो । रासस







