ललितपुर, २५ पुस । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनु जरुरी रहेको बताउनुभएको छ ।
बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानको कार्यान्वयनअनुसार नै उक्त समयभित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन हुने बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयनको जिम्मेवारी सरकारको रहेको बताउँदै यसलाई आमनागरिकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संविधान संशोधन प्रस्ताव विभिन्न बाधा अड्चनबीच संसद्मा पेस भएको बताउनुभयो । ‘‘संशोधनको मूल ध्येय निर्वाचनका साथै संविधान कार्यान्वयन हो’’– उहाँले भन्नुभयो ।
संसद्मा पेस भएको संशोधन प्रस्ताव अन्ततोगत्वा समाधानतर्फ जाने उहाँले विशवास व्यक्त गर्नुभयो । उहाँले छिट्टै स्थानीय निकायको निर्वाचन हुने भएकाले त्यसतर्फ जुट्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिकीकरण गर्नुभएको थियो । सो आवमा नगरपालिकाको आयतर्फ कुल बजेट रु एक अर्ब ३९ करोड दुई लाख २४ हजार ८०० रहने अनुमान गरिएको छ ।
आन्तरिक आयतर्फ रु दुई करोड ९० लाख ७३ हजार ५२४, गत वर्षको मौज्दात रु ५४ लाख १८ हजार ४७६ रहेको जनाइएको छ । यसैगरी साविक गाविस चापागाउँ, लेले र झरुवाराशिको मौज्दात जिम्मेवारी सर्ने रकम रु ४७ लाख ४५ हजार र बाह्य स्रोत रु एक अर्ब ३५ करोड ९८ लाख सात हजार ८०० रहने अनुमान गरेको छ ।
यसैगरी नगरपालिकाको व्ययतर्फ रु एक अर्ब ३९ करोड २२ लाख चार हजार ८०० रहने जनाइएको छ । जसमध्ये साधारण खर्चतर्फ रु एक करोड ४६ लाख ६० हजार, कार्यक्रम खर्चतर्फ रु एक करोड ८९ लाख सात हजार, पुँजीगततर्फ रु एक करोड ६७ लाख रहेको छ ।
यस्तै आर्थिक तथा सामाजिक भौतिक पूर्वाधारतर्फ रु एक करोड ५२ लाख ४२ हजार, स्थानीय निकाय निःशर्त अनुदान (पुँजीगत कार्यक्रम) तर्फ रु आठ करोड ५० लाख ९१ हजार, सेवा तथा उत्पादन खर्च रु १६ लाख तथा लगानी रु १० लाख रहेको छ । स्थानीय निकाय सःशर्त अनुदान एवम् अन्यतर्फ रु पाँच करोड ३५ लाख ८६ हजार, सःशर्त पुँजीगत अनुदान रु ३० लाख, सामाजिक सुरक्षा अनुदानतर्फ रु चार करोड ७२ लाख ४८ हजार ८०० तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितलाई प्राप्त रकम खर्च अनुमानित रु एक अर्ब १४ करोड १२ लाख रहेको छ ।
सो अवसरमा नगरपालिकामा नियमित कर तिरेबापत सन्तानेश्वर इँटा भट्टा उद्योगलाई सम्मान गरेको छ । यसैगरी यस क्षेत्रमा शान्ति सुरक्षा सुव्यवस्थित गर्न सफल रहनुभएका महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई र ज्येष्ठ नागरिक जगमोहन मेहर कायस्थलाई सम्मान गरिएको थियो । रासस