जारी गतिरोध अन्त्यका लागि प्याकेज मै सहमति गर्न एमालेलाई दाहालको आग्रह
पुस ८, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन विद्येयक, लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसंग सम्वन्धीत विद्येयक लगायत विषयमा प्याकेज सहमति गर्न प्रमुख प्रतिपक्षी दल एमालेसंग आग्रह गर्नुभएको छ । जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री दाहालले विवादित विषयमा प्याकेजमा सहमति गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गनुभएको हो । गोरखाको चनौटेमा निर्माणाधिन ६ मेगावटको कालिका लघु जलबिद्युतको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीितक निकासका लागि गम्भिर बन्न एमालेलाई आग्रह गर्नुभयो । लगातार संसद अवरुद्ध गरेर राष्ट्रवादी नहुने भन्दै प्रधानमन्त्री दाहालले संसदीय प्रक्रियाका लागि बाटो खोलिदिन समेत प्रमुख प्रतिपक्षीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो–मधेशी, जनजाती र थारु समुदायलाई पर धकेलेर कुनै पनि दल राष्ट्रबादी हुन सक्दैन, राष्ट्रबादी हुनका लागि तराई पहाड र हिमाललाई मिलाउनुपर्छ यसका लागि संविधान संशोधन अनिवार्य छ । प्रधानमन्त्री दाहाल गोरखाको चनौटेमा निर्माणाधिन कालिका लघुजलबिद्युत आयोजनाको उद्घाटन गर्न र नवौं गोर्खा महोत्सवको उद्घाटन गर्न आज गोरखा पुग्नु भएको हो ।







