पहिचानको मुद्दा मिलेपछि माओवादी केन्द्रसँग चुनावी तालमेल : बाबुराम
काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेपछि नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको दाबी गरेका छन्।
शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचान एवं अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रको पनि धारणा मिलेकाले आगामी संघ र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरिएको पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामको भनाइ छ ।
अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको बाबुरामले उल्लेख गरे । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको बताए ।
उनले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे ।







